अमेरिकाको निसानामा हम्जा बिन लादेन

Hamjabin laden
लाेकपाटी न्यूज

एजेन्सी । अमेरिकाले हम्जा बिन लादेनबारे सूचना दिनेलाई १० लाख अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ ।

उनी सन् २००१ को अमेरिकाको ट्विन टावर हमला सहित थुप्रै आतङ्कवादी गतिविधिको नेतृत्व गरेका अल कायदाका पूर्वप्रमुख ओसामा बिन लादेनका छोरा हुन् ।

हम्जा बिन लादेन अल कायदाका नेताका रूपमा उदाइरहेको बताइएको बताइएपछि उनी अमेरिकाको निसानामा परेका हुन् ।

३० वर्षिय हम्जा बिन कहाँ छन् भन्ने प्रस्ट थाहा छैन । कसैले उनी आफ्नी आमासँग थुप्रै वर्ष इरानमा बसे र त्यहीँ नै उनको विवाह समेत गरे भनेका छन् भने कसैले उनी पाकिस्तान, अफगानिस्तान वा सिरियामा कतै लुकेर बसेका छन् भन्ने कुरा बाहिर ल्याएका छन् ।

पछिल्लो समय उनले सार्वजनिक गरिरहेका श्रव्यदृश्य सामग्रीमा अमेरिका र उसका पश्चिमा साझेदारसँग सन् २०११ मा मारिएका आफ्ना बुवाको हत्याको बदला लिनुपर्ने बताउँदै आएका थिए ।

अमेरिकाले उनलाई दुई वर्षअघि औपचारिक रूपमा विश्वका लागि खतरनाक आतङ्कवादीको सूचीमा राखेको थियो ।

अमेरिकी विदेश मन्त्रालयले भनेको छ, ‘उनका बुवा ओसामा बिन लादेनलाई मारिँदा पाकिस्तानको अब्बोटावादमा सङ्कलन गरिएका पत्रमा हम्जालाई उनको उत्तराधिकारीका रूपमा अगाडि बढाइरहेको सङ्केत देखिन्थ्यो ।’