काठमाडौँ, १७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी आज टुँडिखेल आई हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छिन्।
सोही अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनालाई श्रद्धाञ्जलि अर्पण गरेका थिए। मन्त्री अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलिका लागि उनीहरुको शव आज बिहान टुँडिखेलमा राखिएकोे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्। त्यसैगरि नेकपाका अध्यक्ष प्रचण्डले पनि श्रद्धाञ्जली दिएका छन्। प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन्।
त्यसैगरि सभामूख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेता वामदेव गौतमले पनि टुंडिखेल पुगेर अन्तिम श्रद्धाञ्जली दिएका छन्।
त्यसैगरि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि टुंडिखेल पुगेर श्रद्धाञ्जली दिएका छन्। मन्त्रीगण, नेताहरु र सर्वसाधारणले पनि अन्तिम श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।
नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका छन्।



लाेकपाटी न्यूज

