टुंडिखेलकाे श्रद्धाञ्जली भाेलि बिहानका लागि सर्‍यो

photo
लाेकपाटी न्यूज

काठमाडौं, १६ फागुन । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसहितका सातै जनालाई दिइने अन्तिम श्रद्धाञ्जली सभा आज नहुने भएको छ । त्रिवि शिक्षण अस्पतालले शव पोस्टमार्टम गर्नको लागि अझै ६ देखि १० घन्टा लाग्न सक्ने अनुमान दिएपछि सो सभा स्थगित गरिएको हो ।

यसैबीच आज दिउँसो ३ः३० बजे टुँडिखेलमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने भनिएकोमा पोस्टमार्टमका लागि समय लाग्ने भएपछि सो श्रद्धाञ्जली सभा भोलि बिहानका लागि सार्न लागिएको हो । भोलि बिहान ८ देखि ११ बजेसम्म शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ ।

अस्पतालले शव टुक्रा–टुक्रा भएको अवस्थामा रहेकोले शव पहिचान गर्न मुस्किल हुने भएको बताएको छ । जस्ले गर्दा पोस्टमार्टमाका लागि समय लाग्ने भएको त्रिवि शिक्षण अस्पतालका डाक्टरहरुले जानकारी दिएका छन् ।

यदि शव पहिचान गर्न नसकिए डिएनए क्रस चेक गर्नुपर्ने र त्यसको रिपोर्ट आउन हप्ता–दश दिन लाग्ने अस्पतालले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु भएका सातमध्ये २ जनाको शव पहिचान भएको छ भने ५ जनाको शव पहिचान हुन समस्या भएकोे छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका अंगरक्षक अर्जुन घिमिरेको मात्रै शव पहिचान भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल र पाइलट प्रभाकर केसीको शव पूर्ण रुपमा जलेका कारण पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

घटनामा ज्यान गुमाएका ७ जनाकै शव बिहीबार दिउँसो ताप्लेजुङको सुकेटार विमानस्थलबाट काठमाडौं ल्याइएको हो । सेनाको एमआई १७ हेलिकोप्टरमार्फत ती शवहरु ल्याइएको सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्