‘संयाेगले बाँचेका विजय सुब्बा

Bijay subba
लाेकपाटी न्यूज

काठमाडौं । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारीलगायत ७ जनाको टोलीमै थिए तेह्रथुमका सांसद विजय सुब्बा पनि । तर, एयर डाइनेस्टीको हेलिकप्टर एएस ३५० मा ६ जनाभन्दा बढी यात्रु नअटेकाले एक जना ओलीर्नु पर्ने थियो ।

सिट नपुगेपछि सांसद सुब्बा काठमाडौंमै रोकिए । मन्त्री अधिकारीले नेतृत्व गरेको टोली बिहान ८ः४० बजे एयर डाइनेस्टीको कल साइन अल्फा माइक इन्डिया एएमआई हेलिकोप्टरबाट तेह्रथुमतर्फ उड्यो ।

जब बुधवार अपराह्न सांसद विजय सुब्बा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा थिए जब एक्कासि त्यहाँ उपस्थित गृहसचिव प्रेमकुमार राई फोन बोक्दै कोठाबाहिर निस्किए । कुराकानी सकेर कोठामा फर्कँदै राईले एउटा दुस्खद खबर छ भने । खबर सुन्नेबित्तिकै त्यहाँ उपस्थित सबैजना आश्चर्यचकित मात्र भएनन् उनीहरू कसैको बोली पनि फुटेन । त्यसमाथि सांसद सुब्बाले त आफूलाई झनै अचम्मको अवस्थामा पाए ।

सांसद सुब्बाले मन्त्री अधिकारी उनकै जिल्ला तेह्रथुमस्थित चुहानडाँडामा निर्माण गर्न लागिएको विमानस्थलबारे निरीक्षण भ्रमणका लागि बुधवार त्यहाँ जान लागेको सुइँको सोमवार नै पाएका थिए ।

आफ्नै जिल्लामा जान लागेको थाहा पाएपछि मैले पनि जानको निम्ति आफ्नो नाम टिपाएको थिएँ । पछि अब आवश्यक मानिसहरू जानुपर्ने भएकाले सानो हेलिकप्टरमा सिट पुगेन र म गइँन उनले भने ।

त्यसैले उक्त दुस्खद खबर सुन्नासाथ सुब्बाको मनमा अनेक कुरा खेल्न थाले । उनले भने, ‘पहिलो त आफ्नो साथीभाइको दुस्खद खबरले छाँगाबाट खसेकोजस्तै भयो । फेरि, म झण्डै जान आँटेको थिएँ । सञ्जोगले बाँचियो जस्तो लाग्यो । म त्यो अनुभवलाई शब्दमा व्यक्तै गर्न सक्दिन ।’

सुब्बाको जीवन यसरी सञ्जोगले जोगिएको यो पहिलो घटना भने होइन् । गत वर्ष निर्वाचन अभियानका बेला एउटा घटनामा पनि आफू सञ्जोगले जोगिएको उनी ठान्छन् । एउटा आमसभामा जाँदै गर्दा उनी चढेको जीपमा उनकै सीटमुनि बम राखिएको रहेछ ।

उनले भने, ‘म अघिल्लो सीटमा थिएँ र मेरै सीटमुनि बम पड्कियो। सो घटनापछि झण्डै आधा घण्टाजति त हामी केही बोल्न सकेनौँ । गाडी काम नलाग्नेगरी बिग्रिएको थियो ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्