‘अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट नेपाल विमुख छैन’ : प्रदीप ज्ञवाली

pradip kumar gayali
लाेकपाटी न्यूज

काठमाडौं, १६ फागुन । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले मानवअधिकार संरक्षण एवम् प्रवद्र्धनप्रतिको अन्तर्राष्ट्रिय प्रतिबद्धताबाट नेपाल विमुख नभएको स्पष्ट पारेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त मिचेल बेचेलेटसँग बुधबार जेनेभामा भएको भेटवार्तामा उनले मानवाधिकार रक्षामा नेपाल दृढ रहेको बताएका हुन् ।

सफलतापूर्वक टुङ्गिएको नेपालको शान्ति प्रक्रिया, लोकतान्त्रिक रुपान्तरण र त्यसपछिका कानूनी प्रक्रिया, समावेशी विकासबारे भेटवार्तामा मन्त्री ज्ञवालीले जानकारी गराएको संयुक्त राष्ट्रसङ्घका लागि जेनेभास्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

द्वन्द्वपीडितका चासोको सम्बोधन, सत्य निरुपण तथा मेलमिलापसम्बन्धी बाँकी विषय, सर्वोच्च अदालतको आदेश, मेलमिलापसहित द्वन्द्व पीडितलाई समाजमा पुनःस्थापना गर्न सरकारले सक्दो प्रयास गरिरहेको उनले बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले बुधबार कोष्टारिकाका प्रथम उपराष्ट्रपति र म्यान्माका अन्तर्राष्ट्रिय सहायतामन्त्रीसँग बेग्लाबेग्लै भेट गरी पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्