यी थिए मन्त्री अधिकारीका १२ सपना

Rabindra-Adhikari-12
लाेकपाटी न्यूज

काठमाडाैं, १६ फागुन । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले मन्त्री भएपछि पर्यटन तथा देशको विकार र समृद्धिको क्षेत्रमा धेरै सपना देखेका थिए । जुन सपना कति पुरा भए त कति अधुरै रहे । जब ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी उनले संसारबाट बिदा लिए ।

रवीन्द्र अधिकारीले पर्यटन मन्त्री भएपछि देखेका यी सपनाहरु, जस्लाई उनले पूरा गर्नै पाएनन्ः

मन्त्री भएसँगै रणनीतिक महत्वका पूर्वाधार र राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत त्रिभुवन विमानस्थल विस्तार, सुधार र आधुनिकीकरण गर्ने अधिकारीको सपना पूरा हुन सकेन । उडान क्षमता तथा जहाज पार्किङ क्षमता दोब्बर भएको हेर्न उनले पाएनन् ।

पर्यटनका प्रमुख स्रोत बजारसँग नेपालको सिधा सम्पर्क स्थापना गर्ने उनको सपना आधामै टुंगियो । नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय व्यापारको ६० प्रतिशत हिस्साबाहक बनाउन सकेनन् ।

अधिकारीले पूरा गर्न नपाएको र देखेको अर्को सपना हो, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने । सन् २०२० सम्म दिगो रुपमा वार्षिक २० लाख पर्यटक नेपाल ल्याउने काममा उनले साथ दिन पाएनन् ।

उनले पशुपति क्षेको बृहत्तर विकासका लागि तयार योजनामा थप साथ दिन पाएनन् । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई सञ्चालनमा आएको हेर्न पाएनन् । न त नीजगढ विमानस्थलका लागि चालिएको उनको ठूलो कसरतले निर्माण कार्य सम्पन्न हुन नै पायो ।

लुम्बिनी क्षेत्रमा पर्यटकको संख्या र गतिशिलता ३ गुणाले बढाउने काममा उनले थप साथ दिन सकेनन् । जनकपुरमा रामायण सर्किट निर्माण गरी सहरलाई प्रदेश नं. २ को पर्यटकीय गन्तव्य बनाउन पनि उनले पाएनन् । मुक्तिनाथ क्षेत्र, स्वर्गद्वारीको गुरु योजना पनि सपनामै सीमित रह्यो । रारा र खप्तड क्षेत्र विकास कार्यक्रमसँगै पदमार्ग स्थापना गर्ने काम सुरु पनि गर्न सकेनन् । पाथीभरा र हलेसी महादेव क्षेत्र विकासका लागि काम गर्ने क्रममै उनले ज्यान गुमाउनु पर्यो ।

अधिकारीले प्रत्येक प्रदेशमा कम्तिमा एक प्रादेशिक संग्रहालय बनाउने सपना देखेका थिए, जस्लाई पूरा गर्न पाएनन् ।

सबै प्रदेशमा सांस्कृतिक पहिचानसहितको पर्यटन पूर्वाधार विकास क्षेत्र निर्माण र प्रवद्र्धन गर्ने अधिकारीको सपना पनि दुर्घटनासँगै तुहियो । पर्यटनमैत्री संरचना बनाउने काम सुरु हुनै पाएन ।

देशभर १ सय वटा नयाँ पर्यटकीय गन्तव्य विकास गरी आन्तरिक र बाह्य पर्यटकको संख्या देशव्यापी रुपमा वितरण बनाउने योजना अधिकारीले सुनाउन मात्रै भ्याए, पूरा गर्न पाएनन् ।

नागरिक उड्डयन क्षेत्रको विकासमा अन्तरप्रादेशिक हवाई उडान अधिक सञ्चालन गर्ने, सात प्रदेशमा कम्तिमा एउटा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउने उनको सपना थियो । उनले सबै प्रदेशमा कम्तिमा एउटा हेलिप्याड बनाउने सपना पनि देखेका थिए । जस्लाई उनले पूmरा गर्न पाएनन् ।

भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक संरचना खडा हुने क्रममै अधिकारी विलय भए ।

नेपालका पर्यटकीय गन्तव्यको प्रवद्र्धन अन्तर्राष्ट्रिय बजार र मिडियामा पर्याप्त रुपमा गर्न पाएनन् ।

पर्यटनका लागि मानव संशाधन विकास गर्न अन्तर्राष्ट्रिय स्तरको पर्यटन विश्वविद्यालय बनाउने उनको सपना थियो । पर्यटन क्षेत्रमा प्रतिवर्ष न्यूनतम १० हजार जनशक्ति उत्पादन गर्ने उनको योजना थियो । जो अधुरै रह्यो ।

यी सपना साकार गराउन उनको कार्यान्वयनको ढाँचा सहज र दिशा निर्देशकको रुपमा देखिन्थ्यो । किनकी संघीय सरकारले राष्ट्रिय स्तरको नीति, कानुन मापदण्ड गुरुयोजना तर्जुमा र नागरिक उड्डयन क्षेत्रका सम्पूर्ण काम गर्ने उनको योजना थियो । यसैगरी प्रदेशस्तरका पर्यटकीय स्थलको गुरुयोजना तयार गरी सेवाप्रवाह गर्न पूर्वाधार निर्माण प्रदेश सरकारले गर्ने योजना थियो । तर, दुर्भाग्य उनले यी सपना मात्र देखे, पूरा भने गर्न पाएनन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्