हिमपात रोकिँदै : शव काठमाडौं ल्याइने

शव
लाेकपाटी न्यूज

काठमाडौं, १६ फागुन । मौसम परिवर्तनसँगै ताप्लेजुङ सुकेटार विमानस्थलमा भइरहेको बाक्लो हिमपात रोकिएको जानकारी आएको छ । मौसम खराबी र बाक्लो हिमपातका कारण बुधबार भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव काठमाडौं ल्याउन समस्या भएको हो ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये चारजनाको शव घटनास्थल तारेभीर क्षेत्रबाट संकलन गरेर नेपाली सेनाको हेलिकोप्टरले हिजो नै सुकेटार विमानस्थलमा ल्याएको थियो । बाँकी तीन जनाको शव आज बिहान ल्याइएको हो । तर, शव ल्याइसक्ने बित्तिकै मौसम खराब भएको थियो । जसका कारण विमानस्थलमा बाक्लो हिमपात भएको छ ।

अहिले हिमपात रोकिएकाले मौसममा सुधारको पर्खाइमा दुई हेलिकोप्टर बसेका छन् । नेपाली सेनाको हेलिकोप्टर र एयर डाइनेस्टिकको हेलिकोप्टरलाई हिउँले ढाकेको छ । दुवै हेलिकोप्टर विमानस्थलमै रहेका र मौसममा अलिक सुधार आएपछि शव काठमाडौं ल्याउने तयारी भएको जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्