मन्त्री अधिकारीको अन्त्यष्टि गृह जिल्लामै गरिने

Rabindra-Adhikari-12
लाेकपाटी न्यूज

पोखरा, १६ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनकै गृह जिल्लामा गरिने भएको छ । मन्त्री अधिकारी पोखरा–३३ भरतपोखरीको जामुनाबोटमा जन्मेका थिए ।

कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार अधिकारीको शव काठमाडौं ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिने छ ।

त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलिका लागि राखिने कार्यक्रम छ । गृहमन्त्रालयले निर्णय गरेपछि काठमाडौँ खुलामञ्चमा सम्मानका लागि लगिनेछ । सरकारले अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्ले बुधबार निर्णय गरिसकेको छ ।

पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले आज बेलुकासम्म अधिकारीको शव पोखरा ल्याउने तयारी भएको र शुक्रबार बिहान ८ बजेदेखि अन्तिम श्रद्धाञ्जलिका लागि राखी त्यसपछि अन्त्येष्टि गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्