काठमाडौं। हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव सुकेटार विमानस्थलमा संकलन गरिएको छ।
खराब मौसमका कारण हिजो र आज २ दिन गरी उनीहरुको शव दुर्घटनास्थलबाट संकलन गरिएको हो। उक्त क्षेत्रमा अहिले पनि पानी र हिमपात परिरहेका कारण मृतकको शव काठमाडौं ल्याउन कठिनाई भइरहेको छ। मौसम खुल्नेबित्तिकै शव काठमाडौं ल्याउने तयारी भइरहेको छ।
तर, मौसम अहिले पनि खराब नै रहेको बताइएको छ। शव काठमाडौं ल्याएपछि के गर्ने ? भन्नेबारे नेकपाको सचिवालयको आकस्मिक बैठक बालुवाटारमा बसिरहेको छ। बालुवाटार बैठकमा मन्त्री अधिकारीसहित सबैको अन्तेष्टिको तालिका बनाइनेछ।
सरकारले आज (बिहीबार) राष्ट्रिय शोकको घोषणा गरेको छ भने सार्वजनिक विदा दिएको छ। मन्त्री अधिकारीको शव टुंडिखेल र पार्टी कार्यालय धुम्बाराहीमा राख्ने भनिए पनि बैठकले नै त्यसको अन्तिम निर्णय गर्नेछ। मन्त्री अधिकारीको अन्तेष्टि गृह जिल्ला पोखरामा गरिने भएको छ।



लाेकपाटी न्यूज

