राष्ट्रले क्षमतावान् नेतृत्व गुमायो : अध्यक्ष तिमिल्सिना

Ganesh prasad Timalsina
लाेकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रले एक भरोसा गर्नसक्ने क्षमतावान नेतृत्व गुमाएको बताएका छन्।

बुधबार निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति शोक वक्तव्य जारी गर्दै तिमिल्सिनाले भनेका छन्, ‘ मन्त्री अधिकारी एक कुशल नेता हुनुहुन्थ्यो । इमान्दार जनप्रतिनिधि हुनुहुन्थ्यो । राष्ट्रले भरोसा गर्न सक्ने क्षमतावान व्यक्ति हुनुहुन्थ्यो । उहाँको दुखद निधनबाट राष्ट्रले राज्यको नेतृत्व गर्नसक्ने सम्भावनायुक्त नेता गुमाएको छ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिभावान जनप्रिय नेता गुमाएको छ, सरकारले सम्भावनालाई यथार्थमा बदल्न सक्ने सक्षम मन्त्री गुमाएको छ भने संसदले एक तर्कयुक्त, क्षमतावान, कुशल सांसद गुमाएको छ ।’

यस्तो छ बिहीबार अध्यक्ष तिमिल्सिनाले जारी गरेको शोक वक्तव्य (पूर्णपाठ)

ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभिरमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रविन्द्र अधिकारीसहित सात जनाको अकल्पनीय तथा दुखद निधनले मलाई अत्यन्तै मर्माहत बनाएको छ ।

दुःखको यस घडीमा हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, सफल पर्यटन उद्यमी तथा यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, हेलिकोप्टर पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षागार्ड नेपाली सेनाका जमदार अर्जुन घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली एवं शोकाकूल परिवारजन तथा सबैमा गहिरो समवेदना व्यक्त गर्दछु ।

मन्त्री अधिकारी एक कुशल नेता हुनुहुन्थ्यो । इमान्दार जनप्रतिनिधि हुनुहुन्थ्यो । राष्ट्रले भरोसा गर्न सक्ने क्षमतावान व्यक्ति हुनुहुन्थ्यो । उहाँको दुखद निधनबाट राष्ट्रले राज्यको नेतृत्व गर्नसक्ने सम्भावनायुक्त नेता गुमाएको छ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिभावान जनप्रिय नेता गुमाएको छ, सरकारले सम्भावनालाई यथार्थमा बदल्न सक्ने सक्षम मन्त्री गुमाएको छ भने संसदले एक तर्कयुक्त, क्षमतावान, कुशल सांसद गुमाएको छ । हामीले एक हसिलो, मिलनसार तथा लोकप्रिय युवानेता गुमाएका छौं । नेपाली राजनीतिमा उहाँको अभाव सधै खट्किरहने छ ।

साथै, निजी क्षेत्रबाट मुृलुकको समृद्धि तथा विकासमा समर्पित पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको निधनबाट राज्यले एक सफल उद्यमी गुमाउन पुगेको छ भने राष्ट्रसेवक कर्मचारी तथा हेलिकोप्टर पाइलटको निधनले पनि राष्ट्रलाई ठूलो क्षति भएको छ ।

अन्त्यमा, ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका मन्त्री अधिकारीसहित उद्यमी शेर्पा, राष्ट्रसेवक कर्मचारीहरु, पाइलटप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजन एवं आफन्तमा गहिरो समवेदना व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्