काठमाडौं, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी आफ्नो पदबहालीदेखि नै नयाँ–नयाँ बिमानस्थलको खोजीमा रहे । पहाडी जिल्लादेखि तराईका विभिन्न जिल्लाहरुमा बिमानस्थलको खोजीमा अघि बढिरहेका मन्त्री अधिकारीले विमानस्थलको खोजीकै क्रममा ज्यान गुमाएका छन् ।
मन्त्री अधिकारी आज पनि तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनको लागि अवलोकन गर्न गएका थिए । उनको साथमा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव युवराज दाहाल, ब्यवसायी आङछिरिङ शेर्पा, अर्जुन घिमिरे, वीरेन्द्र श्रेष्ठ, वीरेन्द्रबहादुर बुढाथोकी र चालक दलका एक सदस्य समेत सवार थिए ।
विमानस्थल निरीक्षणको क्रममा मन्त्री अधिकारीले तीन बर्षभित्र विमानस्थल बनाउने बाचा गरेर स्थानीयबासीसँग हाँसीखुसी बिदाइ भएका मन्त्री अधिकारी केही समयमा नै भौतिक रुपले सधैंका लागि बिदा भए । चुहानडाँडा बिमानस्थल निरीक्षणपछि ताप्लेजुङको प्रसिद्ध पाथीभरा दर्शनका लागि उनी त्यहाँ पुगेका थिए ।
पाथीभरा दर्शनपछि पौने १२ बजे काठमाडौं फर्कने क्रममा एअर डाइनेष्टीको हेलिकोप्टर ताप्लेजुङकै खप्टेढुंगामा दुर्घटनाग्रस्त भई मन्त्री अधिकारीसहित हेलिकोप्टरमा सवार सात जनाकै दुखद निधन भएको छ ।



लाेकपाटी न्यूज

