ताप्लेजुङ दुर्घटनामै भएको थियो मन्त्री राई र डा. हर्क गुरुङको मृत्यु

ताप्लेजुङ दुर्घटनामै भएको थियो मन्त्री राई र डा. हर्क गुरुङको मृत्यु
लाेकपाटी न्यूज

काठमाडौँ, १५ फागुन । सुदूरपूर्वको जिल्ला ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रबीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीको पीएसो अर्जुनकुमार घिमिरेको मृत्यु भएको छ ।

यस्तै, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको पनि दुर्घटनामा मृत्यु भएको छ ।

यसअघि पनि २०६३ सालमा पनि वन तथा भू–संरक्षण मन्त्री गोपाल राईसहित २४ जनाको ज्यान जाने गरि ताप्लेजुङमै हवाई दुर्घटना भएको थियो । २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटना हुँदा मन्त्री राईसहित उनकी श्रीमती मीना राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदर प्रसाद पराजुलीको मृत्यु भएको थियो ।

यस्तै, ,राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्र प्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजय कुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पा, दुई सञ्चारकर्मी लगायत संरक्षण क्षेत्रमा समर्पित स्वदेशी तथा विदेशी गरी २४ जनाको निधन भएको थियो ।

घुन्सामा कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाको व्यवस्थापन स्थानीय समुदायलाई हस्तान्तरण गरी फर्कने क्रममा बाक्लो हुस्सुका कारण घुन्साको फले भिरमा हेलिकप्टर ठोक्किएर दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्