काठमाडौं, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको तारेभिरमा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको छ ।
गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी सो हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित छ र क्याप्टेनसहित सात जनाको मृत्यु भएको जानकारी दिएको हो । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीकाअनुसार मन्त्री अधिकारीसहित हेलिकप्टरमा सवार छ र क्याप्टेन गरी सात जनाको शव फेला परेको छ । मन्त्री अधिकारीको शव चिन्न सकिने अवस्थामा छ । मन्त्रीका पीएसओ नेपाली सेनाका जमेदारको पनि शव चिनिएको छ । बाँकी शव चिन्न नसकिने अवस्थामा रहेको जानकारी प्राप्त भएको छ ।
शव ल्याउनका लािग नेपाली सेनाको एमआई १७ र बेल हेलिकप्टर दुर्घटनास्थल पुगिसकेको प्रवक्ता सुवेदीले जानकारी दिएका छन् । उनकाअनुसार दुर्घटना भएको स्थान विकट भएकाले शव हेलिकप्टरसम्म ल्याउन डेढदेखि दुई घण्टा लाग्ने छ ।
मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडामा आयोजित कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्दिरबाट डेढ किलोमिटर यता दुर्घटना भएको थियो ।



लाेकपाटी न्यूज

