दुखद् निधन : को हुन् रवीन्द्र अधिकारी (जीवनी)

Rabindra Adhikari
लाेकपाटी न्यूज

काठमाडौं। युवा पुस्ताका प्रिय नेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी नेकपाका प्रतिभाशाली युवा नेता थिए। कास्की–२ बाट प्रत्यक्ष निर्वाचित सांसद रविन्द्र अधिकारी यसअघि संसदको विकास समितिका सभापति थिए।

आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनाताको बारेमा सोच्ने अधिकारी सबै नेपाली जनताको प्रिय साझा नेता थिए । यसअघि १० उत्कृष्ट सभासद् चयन अनलाइन भोटिङबाट रविन्द्र अधिकारी उत्कृष्ट सभासद्का रुपमा चुनिएका थिए ।

बुवा इन्द्र प्रसाद अधिकारी र आमा लक्ष्मीदेवी अधिकारीको जेष्ठ सुपुत्रको रुपमा बि.सं २०२६ साल बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस वडा नंं. ९ जामुनाबोटमा जन्म भएको थियो । रविन्द्र अधिकारीले विद्या भट्टराईसँग बैबाहिक सम्बन्ध गाँसेका थिए।

उनले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक तह र व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका थिए । एशियाली विद्यार्थी संगठन, बिश्व प्रजातान्त्रिक युवा संघ लगायत अन्तराष्ट्रिय युवा विद्यार्थी संगठनमा संलग्न भएर भूमिका निर्वाह गरेका अधिकारीले बिभिन्न अन्तराष्ट्रिय सम्मलेनमा भाग लिएका थिए।

१२ वर्षको कलिलो उमेरमै अधिकारीको राजनीतिक यात्राले शुरुवात भएको थियो । उनी २०३८ सालमा ७ कक्षामा पढ्दै गर्दा सबैभन्दा धेरै भोट पाएर अनेरास्ववियूका सबैभन्दा कान्छा सदस्य चुनिए । विद्यार्थीका लागी निशुल्क कोचिङ कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक प्रदर्शन, लगायतका मध्यमबाट राजनीतिक जागरण सृजना गर्न सफल अधिकारी स्कुल जीवनमा जेहन्दार, लगनशील अध्ययनशील र अनुशासित विद्यार्थी थिए।

राजनीतिक यात्राः वि.सं. २०३७ सालमा विद्यार्थी राजनीतिमार्फत राजनीतिमा प्रवेश । प्रवेशिका उतीर्ण गर्ने बित्तिकै वन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएपनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू । २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष । २०४५ मा १ बर्ष माध्यमिक विद्यालयमा अध्यापन ।

२०४५ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य । २०४५ सालमा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष । २०४७ सालमा गण्डकी अञ्चल कमिटी अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य । २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्ववियु सभापति निर्वाचित । २०५३ सालमा त्रिवि केन्द्रीय क्याम्पस किर्तीपुरमा स्ववियु सभापति निवार्चित । २०५३ सालमा नै स्ववियु काउन्सिल नेपालको संयोजक निर्वाचित । २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष ।

पञ्चायतको विरुद्धमा २०४६ को जनआन्दोलनमा क्रियाशील रवीन्द्र पञ्चायत कालमा पटक–पटक गरी ६ महिना जेल र हिरासतमा बिताएका थिए । २०४६ को परिवर्तनपछि बिद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ भन्ने विचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गरे। नेपाली भू–भाग डूबाउने लक्ष्मणपुर बाँधको विरोध तथा पारस शाहको ज्यादतीविरुद्ध आन्दोलन, हत्यारा बस्ने दरबारमा हैंन, जेलखानमा हो भन्दै ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने, यातायात लगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहूलियतको आन्दोलनको नेतृत्व अधिकारीले नै गरेका थिए।

उनको राजनीतिक यात्राः २०४६ सालदेखि राजनीतिमा विशेष रुपमा सक्रिय । पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल जीवन । प्रतिगमन विरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासत । एमाले कास्की जिल्ला कमिटीका सचिव । एमाले कास्की जिल्ला कमिटीका अध्यक्ष। संविधान सभा २०६४ को सभासद । २०७० सालको संविधानसभा सदस्य । रुपान्तरित व्यवस्थापिका संसदको सदस्य ।

मन्त्री हुनुअघि अधिकारी नेकपा एमाले केन्द्रीय सदस्य, व्यबस्थापिका संसदको विकास समितिको सभापतिको भूमिका निर्वाह गरेका थिए। अधिकारी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसमेत थिए। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए। उनका संविधानसभा, लोकतन्त्र र पूर्नसंरचना, समृद्ध नेपाल पुस्तक प्रकाशित छन्। अधिकारी लोकप्रिय नेता र कुशल लेखक पनि थिए।

अधिकारी बुधबार ताप्लेजुङ विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पूर्वी जिल्ला प्रस्थान गरेका थिए। ताप्लेजुङको पाथिभरा नजिक भएको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा २०७५ फागुन १५ गते दिउँसो १ बजे मन्त्री अधिकारीको निधन भएको छ। हार्दिक श्रद्धासुमन, अलबिदा नेता एवं मन्त्री रवीन्द्र अधिकारी।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्