भरतपुर, १५ चितवन । चितवनको भरतपुर महानगरपालिकाले पछिल्लो समय महत्वपूर्ण कामहरु गर्दै आएको छ । महानगरले महानगरीय रिङ्गरोड र १३ वटा लिङ्करोडको काम यसै आ.व. मा शिलन्यास गरी तीब्र गतिमा निर्माण भइरहेको जनाएको छ । पछिल्लो समय महानगरले गरेका १५महत्वपूर्ण कामहरु यस्ता छन्ः
– धुर्मुस सुन्तली फाउण्डेसनसँगको सहकार्यमा अन्तरराष्ट्रिय स्तरको ऐकेडेमी सहितको क्रिकेट रंगशाला निर्माणको क्ष्भ्भ् को काम अन्तिम चरणमा पुगेको र साईट अफिस निर्माण गरी डिपिआर तयारीको कार्य अगाडि बढिरहेको ।
– सुबिधा सम्पन्न अन्तरराष्ट्रियस्तरको महानगरीय सिटीहल निर्माणको डिजाइनको काम भैरहेको ।
– नारायणगढको पुरानो सब्जीमण्डीमा निर्माण हुन लागेको बहुतले सपिङ्ग कम्प्लेक्सको डिजाइन एवं स्ट्रक्चरल प्लान तयार गर्ने कार्य अन्तिम चरणमा रहेको ।
– कटान नियन्त्रण गरी नदी कटानको जग्गा उपयोग सहित नारायणी र राप्तीमा तटबन्धन सहितको १०५ किलोमिटरको तटबन्धसहितको आउटर रिङ्गरोडको संभाव्यता अध्ययन प्रकृया प्रारम्भ भएको ।
– चालु आर्थिक वर्षमा मात्रै १ सय ५० कि.मि. सडक कालोपत्रे गर्ने उद्देश्यका साथ काम भइहेको ।
– चालु आ.व.को आवधिक योजनाहरुको करिब ७५ प्रतिशत ठेक्का तथा सम्झौता भई काम अगाडि बढिरहेको ।
– कृषि क्षेत्रको विकासका लागि मल, बिउ, दूध र सिंचाईमा अनुदान तथा थोक तथा खुद्रा बजारको विकास र विस्तार गरिएको ।
– लक्ष्यअनुसार राजस्व असुलीका लागि १२ वटा वडाहरुमा कर्मचारी र जनप्रतिनिधि सम्मिलित टोली परिचालन गरिएको र चालू आ.व. मा ५५ करोड ४५ लाखको आन्तरिक राजश्को लक्ष्य लिइएकोमा हालसम्म ३१ करोड ३० लाख उठिसकेको ।
– नगरबासीहरुलाई प्रभावकारी र सहजै सेवा र्पूयाउन २ वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भई संचालनमा आएका, ४ वटा वडा कार्यालय भवनहरुको निर्माणको काम भैरहेको र अन्य २ वटा वडा कार्यालयहरु छिट्टै निर्माण हुने चरणमा रहेका । अन्य वडा कार्यालयहरुमा मर्मत सुधारको काम भइरहेको । साथै १८ वटा वडाहरुमा अप्टिकल फाइबर बिच्छ्याउने काम सम्पन्न गरी छिटो छरितो सेवा प्रदान गरिएको ।
– भरतपुर महानगरपालिकाले सेवामा सरलता र अनियमितता तथा भ्रष्टाचार जस्ता विषयहरुको अन्त्य गर्न जनप्रतिनिधीहरुका लागि आचार संहिता, २०७५ विपद् व्यवस्थापन सम्बन्धी ऐन, २०७५ लगायत आवश्यक १० भन्दा बढी ऐन तथा विद्येयकहरु निर्माण गरी सेवा प्रवाह एवं सुशासन स्थापित गर्ने कामहरु भैरहेका ।
– स्मार्ट सिटी निर्माणको गुरुयोजनाको लागि तथ्याङ्क तयारी गर्ने उद्देश्यका साथ तथ्याङ्क संकलनको काम अन्तिम चरणमा रहेको ।
– सवारी आवागमनलाई व्यवस्थित गर्न शहिद चोकमा ट्राफिक लाइटको जडान गरिसकिएको र अन्य आवश्यक स्थानमा छिट्टै जोड्ने तयारी भैरहेको । विभिन्न २० स्थानमा व्यवस्थित ट्राफिक आइल्यान्ड राखिएको ।
– भरतपुर अस्पताल विशेषज्ञ सेवा सहितको केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नति भैसकेको र आवश्यक पूर्वाधार विकासमा केन्द्रित हुने क्रममा रहेको ।
– देवघाटमा विद्युतीय शवदाह गृह, भरतपुर अस्पतालमा बिरामी कुरुवा घर, वडा नं. १९ मा पहुँच मार्ग सहितको रमणीय रानी पोखरी निर्माण, भरतपुर बसपार्क लगायतका ठूला परियोजनाहरु निर्माणको काम यसै चौमासिकबाट तीब्र गतिमा अगाडि बढिरहेको
– महानगरपालिकाको सक्रियतामा रामपुर–चनौली सडक निर्माण, हुलाकी मार्गका अलवा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका तथा अपाङ्गका साथै सामाजिक विकास, सुशासन र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण कामहरु भैरहेका छन्।



लाेकपाटी न्यूज

