भरतपुर महानगरले गर्याे ट्राफिक लाइट जडान

ट्राफिक लाइट
लाेकपाटी न्यूज

भरतपुर, १५ फागुन । चितवनको व्यस्त बजार नारायणगढमा परीक्षणका लागि ट्राफिक लाइट जडान शुरु गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणगढ बजारको शहिदचोकमा ट्राफिक लाइट जडान गर्न शुरु गरिएको हो ।

सम्पूर्ण रुपमा सञ्चालन हुने गरी एक हप्ताभित्र जडानको काम सम्पन्न गरिने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिएका छछन् । उनले जिल्लामा नै पहिलोपटक ट्राफिक लाइट जडान गरिएको बताउँदै भने, ‘पहिला शहिदचोकमा परीक्षण गर्छौं र त्यसको प्रभावकारिताका आधारमा अन्य व्यस्त चोकमा पनि ट्राफिक लाइट जडान गर्छौं ।’ उनकाअनुसार महानगरपालिका र निजी क्षेत्रको साझेदारीमा ट्राफिक लाइट जडान गरिएको हो ।

करीब रु. २५ लाखको लागतमा जडान गरिएको लाइटको २० प्रतिशत मात्र महानगरपालिकाले व्यहोर्ने छ । अन्य ८० प्रतिशत भने जडानको जिम्मा पाएको यार्सा टेक्नोलोजी प्राइभेट लिमिटेड काठमाडौंले व्यहोर्ने छ । ट्राफिक लाइट जडानका लागि महानगरले वि.सं. २०७५ साल जेठमा यार्सा टेक्नोलोजीसँग सम्झौता गरेको थियो । शहिदचोकमा जडान गरिएको ट्राफिक लाइट प्रभावकारी भए क्रमशः पुल्चोक, लायन्चोक, चौबिसकोठी र हाकिमचोकमा पनि जडान गरिने बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले ट्राफिक लाइट जडानपश्चात् ट्राफिक व्यवस्थापनमा सहजता हुने बताएका छन् । उनले भने, ‘ट्राफिक जनशक्तिको अभाव अब ट्राफिक लाइटले पूरा गर्छ ।’ जिल्लाभर ४५ मात्र ट्राफिक प्रहरीको दरबन्दी रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणगढ क्षेत्र भएर दैनिक १५ हजार सवारीसाधन ओहोरदोहोर गर्ने गरेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्