काठमाडौं, १५ फागुन । भरतपुर महानगरपालिकामा हिजोआज तनावको अवस्था सिर्जना भएको छ । महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले प्रमुख रेनु दाहाललाई विभिन्न दोषारोपण गर्दै सार्वजनिक रुपमा उत्रन थालेपछि तनावको अवस्था सिर्जना भएको हो ।
यसै सन्दर्भमा महानगरपालिकाका प्रमुख र उपप्रमुखले दुबैले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर आफ्ना भनाइहरु सार्वजनिक गरेका छन् । विगत केही हप्तादेखि दुई जनाबिच एउटै टेबलमा बसेर समस्या समाधानको प्रयास नहुँदा सञ्चार माध्यममा महानगरको विषय छताछुल्ल भएको हो ।
उपप्रमुख पार्वती शाह ठकुरीले दुई पटक पत्रकार सम्मेलन गरेर प्रमुख माथि आरोप लगाएपछि प्रमुख रेनु दाहालले आज पत्रकार सम्मेलन गर्दै आरोप प्रमाणीत गर्न चुनौती दिएकी छन् । उनले उपमेयरका नातागाेतालाई जागिर नखुवाए भ्रष्टाचार हुन्छ ? भनेर उपप्रमुखमाथि प्रश्न गरेकी छन् ।
कार्यालयमा महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख रेनु दाहालले उपप्रमुखले मिथ्या आरोप लगाएर चरित्र हत्या गर्ने प्रयास गरेको बताएकी छन् । उनले भनिन्, ‘म र महानगरपालिकाको कर्मचारी माथि नभएका झुठा विवरण सार्वजनिक गर्दै बदनाम गर्दै हिँड्नु भएको छ ।’ प्रमुख रेनु दाहालले उपप्रमुखले तथ्यहिन विषयलाई मिडियाबाजी गर्दै चितवनदेखि काठमाडांैसम्म पुगेर पत्रकार सम्मेलन गरी झुटा विषय उचालेको बताइन् ।
महानगरपालिकाको विकास र समृद्धिमा असर पार्ने तरिकाले कपोकल्पित विषय उठाएर हिँड्नु असान्दर्भिक भएको भन्दै उनले उपप्रमुखले आफ्ना प्रशासकीय प्रमुखले नटेरेको भन्दै विषय उठान गरेको र पछि मेयरले अनियमितता गरेको भन्दै अफवाह फैलाउन खोजेको बताइन् । व्यक्तिगत कुण्ठा पालेर महानगरको विकासमा उपप्रमुखले असहयोग गर्नु भएको भन्ने शंका लागेको दाहालले प्रष्ट पारिन् ।
यसैबीच महानगरपालिकाले गरेको अनियमितता, भ्रष्टाचार, आर्थिक हिनामिना वा कुनै पनि विषयमा कमजोरी भएको भए प्रमाणसहित आएमा आफूले सजाय भोग्न तयार भएको दाहालले चुनौती दिएकी छन् । व्यक्तिगत स्वार्थलाई लिएर झुटा प्रचारबाजी गरेको भन्दै आपत्ती जनाउँदै उपप्रमुखले आफ्ना नातागोताका व्यक्तिलाई जागीर लगाउन नपाएको रिसमा यो सबै क्रियाकलाप गरेको उनले बताइन् ।
उनले भनिन्, ‘भतिजीलाई जागिर दिन दबाब दिनु भयो, बहिनी कार्यालय सहयोगी नियुक्त गर्नु भयो, ज्वार्इं ड्राइभर, भतिजा स्वकीय सचिव, बहिनीको छोरीलाई नियुक्ति दिनु प¥यो भन्ने विषय थियो । त्यही विषयमा कुरा नमिलेपछि गलत प्रचार गर्दै हिँड्नु भयो । उनले थपिन्, ‘भतिजीलाई भर्ती गर्न नपाएको झाेँकमा बबण्डर मच्चाउने ?’ ।
उपप्रमुख पार्वती शाह कठुरीले भरतपुर र काठमाडांैमा पत्रकार सम्मेलन गरी महानगरमा अर्थिक अनियमिता भएको, काम राम्रोसंग नभएको, प्रशासकीय प्रमुखले नटेरेको, विकास नभएको, समितिहरु पूर्ण नभएको, आफूलाई बेवास्ता गरेको जस्ता आरोप लगाएकी थिइन् ।



लाेकपाटी न्यूज

