बूढीगण्डकी आयोजना द्रूत गतिमा अघि बढ्छ : प्रचण्ड

Prachanda_gautam_buddha_stadium-e1548851590915
लाेकपाटी न्यूज

गोरखा १५, फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम द्रूतगतिमा अघि बढ्ने बताएका छन्।

गोरखाको गण्डकी गाउँपालिका–७ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन कार्यक्रममा मङ्गलबार गोरखा र धादिङको सीमानामा निर्माण गर्न लागिएको उक्त आयोजनाले राष्ट्रिय महत्व बोकेको भन्दै अध्यक्ष प्रचण्डले त्यसलाई कुनै पनि हालतमा ढिलासुस्ती हुन नदिने बताए।

“म आफैँ प्रधानमन्त्री भएको बेलामा बूढीगण्डकी जलाशययुक्त आयोजना अगाडि बढाउनैपर्छ भनेर चिनियाँ कम्पनीसँग समझदारी पत्रमा सम्झौता गरेर निर्माण अगाडि बढाउन थालेको हो”, उनले भने, “केही ढिलाइ त भयो तर अहिले आयोजनाले विस्तारै गति लिँदैछ ।”

आयोजनाको डुबान क्षेत्रमा पर्ने र पूर्ण रूपमा विस्थापित हुने प्रभावित क्षेत्रका जनतालाई मुआब्जा वितरणको काम ठीक ढङ्गले अघि बढेको भन्दै मुआब्जा निर्धारण हुन बाँकी रहेको क्षेत्रको पनि छिट्ट्रै मुआब्जा निर्धारण गर्ने तयारी भइरहेको प्रचण्डले बताए। “यो आयोजना खाली विद्युत् निकाल्ने आयोजना मात्र होइन”, उनले भने, “यसले नेपालको विकासका लागि दीर्घकालीन महत्व राख्छ ।”

आयोजना निर्माण गर्दा जनतालाई मर्का नपर्ने गरी सरकारले मुआब्जा वितरणको कामलाई अघि बढाएको उनले बताए। “गाउँघर तथा शहरको घर र जग्गाको मूल्यको उचित मूल्याङ्कन सरकारले गर्छ”, अध्यक्ष प्रचण्डले भने, “डुबान क्षेत्रका जनतालाई मार नपर्ने गरी मूल्याङ्कन हुन्छ।” विशेषगरी गोरखाको मुख्य व्यापारिक केन्द्र आरुघाट बजार र धादिङको खहरे क्षेत्रको मुआब्जा निर्धारण बाँकी रहेको भन्दै उहाँले अब त्यसको पनि टुङ्गो लाग्ने बताए।

अध्यक्ष प्रचण्डले आयोजना गोरखा र धादिङ मात्र नभएर सम्पूर्ण नेपाली जनताको लागि महत्वपूर्ण आयोजना भएको उल्लेख गरे। बूढीगण्डकी जलविद्युत् आयोजनाले देशलाई आर्थिक समृद्धितर्फ लैजान योगदान पु¥याउने भएकाले यस्ता खालका राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखेर काम अघि बढाउने उनको भनाइ थियो ।

उनले आफूले विगतको १० वर्ष भूमिगत आन्दोलनमा बिताएको र त्यसपछिको १० वर्ष शान्ति र संविधानका लागि बिताएको भन्दै अबको १० वर्ष देशको आर्थिक समृद्धिका लागि बिताउने बताए। सरकार गठन भएको एक वर्षको अवधिमा जनताको अपेक्षाअनुसार काम हुननसकेकाले अब नयाँ नीति तथा कार्यक्रममार्फत अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्