राजेन्द्र न्यौपाने/पालुङ्टार, गोरखा। सरकारका गृहमन्त्री रामबहादुर थापाले जसरी पनि समाजवाद ल्याउने बताएका छन्। आज गोरखाको पालुङ्टार स्थित आँपपिपलमा आयोजित सहिद सुरेश वाग्ले र भीमसेन पोखरेलको १९ औं स्मृति सभालाई सम्बोधन गर्दै मन्त्री थापाले उक्त कुरा बताएका हुन्।
कार्यक्रममा थापाले भने, ‘समृद्ध र सुखी नेपालको स्थापना नै समाजवाद हो, भ्रष्टचारी, दलाली, ठग, तस्कर, घुसखाने प्रशासक, प्रहरी, बैदेशिक रोजगारमा ठगी गर्ने दलालहरु, सिण्डिकेटधारीहरु, उपभोक्ता समितिका नामबाट विकासमा अवरोध पु¥याउनेहरु, महिला दिदीबहिनीहरुलाई बेचबिखन गर्नेहरु, काम नगर्ने ठेकेदारहरु, बलत्कार गर्नेहरु, जग्गा दलाल, जनताका काममा ढिलासुस्ती गर्नेहरु समाजवादका बाधक रहेकाले यिनीहरुलाई ठेगान लगाएर समाजवाद ल्याइन्छ।’
जनवादी क्रान्ति पूरा भएको बताउँदै अबको क्रान्ति समाजवादी क्रान्ति भएको उनले बताए। समाजवादी क्रान्तिका मुख्य दुश्मनहरु पहिचानको क्रममा रहेको उनको भनाइ थियो। शहिदहरुका बलिदानको पाठलाई नयाँ ढंगबाट सिक्नुपर्ने बताउँदै समाजवाद के हो र यसका बाधक को हुन् भनेर गहिरिएर अध्ययन गर्नुपर्ने बेला आएको मन्त्री थापाले बताए।
कार्यक्रममा नेकपाका गण्डकी प्रदेश संयोजक हितराज पाण्डेले शहिद सुरेश वाग्ले र भीमसेन पोखरेलले देखाएको बाटोमा अविचलित भई निरन्तर काम गरिरहने बताए। प्रतिनिधि सभाका सभासद हरिराज अधिकारीले शहिद स्मृति प्रतिष्ठानले युद्ध संग्रहालय निर्माणको योजना बताउनुपर्ने बताए।
कार्यक्रममा सहित सुरेश वाग्लेका छोरा विकास वाग्ले, नेकपाका नेता जुद्ध विलास भण्डारी, प्रदेश सभासद हरिशरण आचार्य लगायतले स्मृति मन्तव्य राखेका थिए। सुरेश वाग्ले र भीमसेन पोखरेलको २०५६ साल भदौ २३ गते गोरखाको गाँखुमा प्रहरीले हत्या गरेको थियो।
प्रतिष्ठानले कार्यक्रममा विभिन्न विद्यालयका गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको थियो। कार्यक्रम प्रतिष्ठानका अध्यक्ष लोकनाथ वाग्लेको अध्यक्षता र महासचिव लेखनाथ न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो।
गृहमन्त्री थापाको मन्तव्यका केही अंश
आजभन्दा तीन दशक अगाडि सिरानचोकको डाँडामा बसेर सल्फर कार्वन घोटेर बारुद्ध निर्माण गरेका थियौं। पार्टी हेडक्वाटर गोरखामा स्थापना गरी गोरखाबाट जनयुद्धको थालनी गरिएको थियो।
समाजवाद भनेको समृद्धि र विकास हो। जनतालाई समृद्ध र सुखी बनाउने हो। समाजवाद भनेको सबै शिक्षित, सुखी र रोजगार प्राप्त हुने अवस्था हो। हिजोका राजतन्त्र, जमिन्दारहरुलाई पन्छाउनका लागि गणतन्त्र स्थापना गरे जसरी नै समाजवाद स्थापनामा बाधा पार्नेहरुविरुद्ध सबै एक भएर लाग्नुपर्छ।
घुस लिने र दिने, भ्रष्टचारी, जनताका काम नगर्ने प्रशासकहरु, प्रहरीहरु, व्यापार व्यवसायमा सिण्डिकेट कायम राख्न चाहनेहरु, ठेकेदार, ठग, तस्कर, जल, जंगल र जमिनको मिच्याई गर्नेहरु समाजवादका विरोधी हुन्।
नेकपा नेतृत्वमा सरकार बनेको ६ महिना हुँदासम्म केही प्रगति भएन भनेर बाहिर बजारमा हल्ला गर्नेहरु धेरै छन्। पराजित मानसिकतालाई १०० ले गुणा गरेर जीत खोज्नेहरु यही समाजमा छन्। प्रतिगामी शक्ति राजनीतिक अस्थिरता कायम गरी सरकारलाई कमजोर पार्न उद्धत छ। सरकारले संघीयता लागू गरेको छ । धेरै कामहरु भएका छन् । ठोस योजनाहरु निर्माण भएका छन्। दुश्मनको भ्रममा हामीहरु पर्नुहुुँदैन। सरकारको कामहरुमा चिन्ता र चासो राख्नु सल्लाह दिनु आम नागरिकहरुको कर्तव्य हो। सरकार समृद्ध राष्ट्र निर्माणका लागि काम गरिरहेको छ।



लाेकपाटी न्यूज

