‘राजधानीका लागि दाङ नै उत्तम’

Ghorahi Dang-Sujhab Sankalan a
लाेकपाटी न्यूज

दाङ, १४ फागुन । प्रदेश नं.–५ को स्थायी राजधानी र नामका बारेमा यहाँ सुझाव सङ्कलनार्थ आएको प्रदेशसभा सदस्य तथा विशेष समितिको टोलीसँग सम्वाद समिति दाङले आज अन्तरक्रिया गरेको छ।

सो कार्यक्रमका वक्ताले प्रदेश नं. ५ को स्थायी राजधानीका लागि दाङको विकल्प नभएको बताए। स्थायी राजधानीबारे सुझाव सङ्कलनका लागि गठित विशेष समितिका सदस्य निर्मला क्षेत्री, कल्पना पाण्डे सहभागी सो छलफल कार्यक्रममा बोल्ने व्यक्तिहरुले प्रदेशका १२ जिल्लाकै मध्यविन्दु दाङ पर्ने भएकाले राजधानीका लागि यसको विकल्प नभएको सुझाव दिए।

दाङ दक्षिण एशियाकै ठूलो उपत्यका, हावापानी, सुरक्षा, सुविधा, यातायात, प्राकृतिक, सामाजिक हिसावले पनि उपयुक्त भएकाले केन्द्रीय राजधानी बनाउने बहस भएको अवस्थामा प्रदेशको राजधानीका लागि अर्को विकल्प खोज्नु दाङलाई अन्याय हुने तुलसीपुरवासीले सुझाव दिए। गरीबी निवारण कोषका पूर्वकार्यकारी निर्देशक तथा तुलसीपुरवासी नहकुल केसीले भने, “प्रदेशले न्यायोचित तरिकाले राजधानी तोक्छ भने दाङ नै तोकियोस्।”

प्रदेशको नाम भने लुम्बिनी र त्यसो नभए स्वर्गद्धारी राख्नुपर्ने सुझाव दिइएको थियो। सुझाव सङ्कलन विशेष समितिका सदस्य क्षेत्रीले प्रदेशका सबै जिल्लामा पुगेर छलफलका क्रममा सङ्कलन भएका आवाजलाई राजधानीका लागि गठन भएको समितिमा बुझाउने र प्रदेशका सबै जनतालाई न्याय हुने हिसाबले राजधानी तोक्ने बताए।

राजधानी तोक्न निकै चुनौती रहेको भन्दै क्षेत्रीले राजधानीका विषयमा आफूहरुले राजनीतिक दलभन्दा माथि उठेर निर्णय गर्नेसमेत बताए। सो अवसरमा समाजका सबै क्षेत्रका दुई दर्जन बढी वक्ताहरुले सुझाव सङ्कलन समितिलाई मौखिक रुपमा सुझाव दिएका थिए।

विशेष समितिका सदस्य क्षेत्री र पाण्डेको टोलीले घोराहीमा विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, आदिवासी जनजाति समुदाय, महिला, पत्रकार, व्यापारी, मजदुरलगायत समाजका विभिन्न पक्षसँग लिखित रुपमा सुझाव लिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्