जनयुद्ध महान थियो, बलिदान उच्च थियो : जनार्दन शर्मा

Janardan Sharma
लाेकपाटी न्यूज

काठमाडौं, १४ फागुन। नेपाल कम्युनिष्ट पार्टीका नेता, कर्णाली प्रदेशका ईञ्चार्ज एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले तात्कालीन ने.क.पा. (माओवादी) को नेतृत्वमा सञ्चालन भएको जनयुद्ध महान भएको र शहिदहरुले उच्च बलिदानी गरेका बताएका छन्।

जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले उक्त कुरा बताएका हुन्। नेता शर्माले भने, ‘शहिद सप्ताह पार्टीकै योजनामा मनाउँदैछौं। तपाईहरु कोही पनि भ्रममा नपर्नुहोला। यो पार्टीको निर्णय हो, हामीले देशभरिका सबै जिल्लामा शहिद सप्ताह मनाउँछौं। जनयुद्ध महान थियो, बलिदानी युगान्तकारी थियो, त्यसको हामीले सधैं सम्मान गर्छौं, सम्मान गर्न सक्नुपर्छ।’

शर्माले थपे, ‘हिजो हामीले पार्टी एकता गर्दा जनयुद्धको इतिहासलाई कसरी बुझ्ने, कसरी संश्लेषण गर्ने ? भन्ने बारेमा गम्भीर बहस गरेका छौं। नेकपाको दस्तावेजले जनयुद्धको स्वामित्व लिएको छ। जनयुद्धबारे त्यहाँ स्पष्ट उल्लेख गरिएको छ। नेतृत्वको भूमिका अर्थात् प्रचण्ड कमरेडको भूमिका पनि प्रष्टसँग लेखिएको छ। हामी कोही पनि भ्रममा नपरौं। पार्टीको आधिकारिक नीति पनि यही हो।’

शर्माले आफूलाई इतिहास हराउला कि भन्ने चिन्ता लागेको बताए। शर्माले भने, ‘सङ्घर्ष शब्दमात्र होइन, जीवन हो । सङ्घर्ष यहीँनेर रोकियो कि भन्ने ठान्छौं भने यो भ्रम हो। सङ्घर्ष त वर्ग रहेसम्म निरन्तर चलिरहन्छ। हामीले वर्गप्रति, राष्ट्रप्रति इमान्दार भएर सङ्घर्ष गर्नुपर्छ, सङ्घर्ष नगर्नेहरु कम्युनिष्ट हुँदैनन्।’

बाल्यकालमा आफूले शहिदहरुको जीवनी पढ्दा गर्वले छाति चौडा हुने गरेको उनले सुनाए। शर्माले भने, ‘मैले ५÷६ कक्षामा पढ्दा गंगलाल, दशरथहरुको जीवनी पढ्थे। शहिदहरु कति महान् रहेछन् भन्ने लाग्थ्यो, अब नेपालमा शहिद हुँदैनन् कि शहिद हुन पाइँदैन कि भन्ने लाग्थ्यो। तर, त्यो होइन। सङ्घर्ष निरन्तर हुन्छ, बलिदानी पनि सङ्घर्षको निरन्तरतामा हुने कुरा हो।’

शर्माले बलिदानी गर्ने अवसर आफूले गुमाएकोसमेत बताए। उनले भने, ‘शहिदहरु महान् छन्, अब उनीहरुले गल्ती गर्दैनन्, हामी त जहिले पनि जोखिममै छौं। मैले पार्टीको एउटा बैठकमा भनेको थिएँ–म किन शहिद हुन पाइनँ। गोलीको छर्रा लागे पनि त्यो ‘एटिवान’ मेरो टाउकोमा किन परेन ? तसर्थ, हामी अहिले पनि परीक्षामा छौं।’

नेता शर्माले आफूले राम्रो गर्न खोज्दा सबैको तारो बनेको गुनासो गरे। शर्माले भने, ‘राम्रो काम गर्छु भन्दा धेरैको तारो बनें। म अहिले पनि लडाईमै छु, जनतालाई समृद्ध पार्ने लडाई, देशलाई विकसित तुल्याउने लडाई, देशलाई स्वाधीन बनाउने लडाई, त्यो जारी छ। सांसद हुँदा, मन्त्री हुँदा पनि मैले लडाई नै गरें। यो निरन्तर क्रान्ति नै हो।’

कम्युनिष्टहरु जनताप्रति इमान्दार हुनुपर्ने शर्माले बताए। उनले भने, ‘यदी हामी कम्युनिष्ट हौं भने हामी लडाईमै छौं। हामीले शहिदको सम्मान गरिरहेका छौं। सम्मान मूखले हुँदैन, व्यवहारले हुन्छ। के हाम्रा व्यवहार जनताको सेवामा, राष्ट्रको हितमा र समृद्धिको पक्षमा छन् ? हामी सबैले त्यसको आत्मसमीक्षा गरौं। समाजवाद निर्माणको नयाँ लडाईमा जुटौं।’

आफ्नो परिवारबाट पनि ५/६ जनाले बलिदानी गरेको शर्माले बताए। उनले भने, ‘मेरो परिवारबाट पनि काका, मामा, बैनी, भाइ लगायत ५/६ जना शहिद हुनुहुन्छ। हामीहरु समाजवादका लागि सङ्घर्ष गर्ने भनेर पार्टी एकताको नयाँ आएका छौं। विचारमा पनि यही बहस गरौं। समाजवादका लागि भित्रैबाट लडौं, नभए मात्र बिकल्प सोचौंला।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्