काठमाडौं, १४ फागुन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो पार्टी हुँदा आफूहरुले धर्ती छोडेको स्मरण गरेका छन्।
जनयुद्धका शहिद दिलबहादुर रम्तेलको स्मृतिमा गोरखाको बारपाकमा निर्मित शालिक अनावरण कार्यक्रममा बोल्दै प्रचण्डले ठूलो पार्टी हुँदा २०६४ मा तात्कालीन माओवादीले र २०७० मा एमालेले धर्ती छोडेको स्मरण गरेका हुन्। उनले ठूलो पार्टी हुँदा जनता भुल्ने बिरासतबाट सचेत रहन पनि आग्रह गरे।
कार्यक्रममा प्रचण्डले भने, ‘२०६४ सालको निर्वाचनमा हामी बहुमतमा आयौं, ठूलो पार्टी बन्यौं। प्रत्यक्ष निर्वाचनमा त हामी बहुमतमा थियौं, समानुपातिक जोड्दा हामी ठूलो पार्टी थियौं। तर, हामीले धर्ती छोड्यौं । ठूलो पार्टी भएपछि धर्ती छोडेको अनुभव हाम्रो आफ्नै छ।’
प्रचण्डले थपे, ‘त्यही धर्ती छोडेका कारण २०७० को निर्वाचनमा हामी तेस्रो पार्टी भयौं। एमालेले पनि जित्दा के हुन्छ, हार्दा के हुन्छ ? भन्ने अनुभव लियो। त्यही अनुभवले हामीलाई पार्टी एकताको शिक्षा पनि दियो । त्यही अनुभवले हामी सफल भयौं।’
उनले अगाडि भने, ‘ठूलो पार्टी हुँदा कस्तो अनुभव हुन्छ, कस्तो मनस्थिति हुन्छ, त्यो हामीलाई थाहा छ। सानो पार्टी हुँदा कस्तो अनुभव हुन्छ, त्यो पनि हामीलाई थाहा छ। एमाले र माओवादी दुवैका अनभुवले एकता नै ठीक भन्ने ठाउँमा पुर्यायो। हामीले नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका आधारमा समाजवादमा अघि बढ्ने संकल्प गरेका छौं।, त्यही वैचारिक धरातलले हामीलाई एक ठाउँमा ल्यायो। अहिले पनि हामी त्यसैमा केन्द्रित छौं।’
सरकारका कामबारे बोल्दै प्रचण्डले भने, ‘हामी मिलेर निर्वाचनमा गयौं, तपाई जनताले हामीलाई विश्वास गर्नुभयो। अब हाम्रो एउटै संकल्प विकास र समृद्धि हो, जनताका समस्या सम्बोधन गर्नु हो। सरकारले अहिले विकासका निकै राम्रा योजना अगाडि सारेको छ। सामाजिक सुरक्षा कार्यक्रम, रोजगार कार्यक्रम त्यसका उदाहरण हुन्।’
प्रचण्डले थपे, ‘तर जनताले सोचे जति फटाफट काम गर्न सकिएको छैन । तपाईहरुलाई बुद्धाभत्ता बढोस्, भ्रष्टाचारीलाई कार्वाही होस्, छिटोछिटो विकास होस् भन्ने लागेको छ। बृद्धाभत्ता नबढ्दा तपाई बुवा–आमालाई नमीठो लागेको कुरा मलाई र प्रधानमन्त्रीलाई पनि थाहा छ। अबको बजेटमा हामी त्यो सच्चाउँछौं।’
प्रचण्डले जनताका आधारभूत समस्या प्रधानमन्त्रीलाई जानकारी भएको बताए। उनले भने, ‘हामी अहिले छलफलमा छौं। हामीले जनतासामू गरेका बाचा कसरी पूरा गर्न सकिन्छ, त्यसको समीक्षामा पनि छौं। अर्कोपटक हामीले जनताको सेवामा देखिनेगरि बजेट ल्याउँछौं। पूर्वाधार विकास, रोजगारी, सामाजिक सुरक्षा भत्ता, शिक्षा, स्वास्थ्य सबैमा बजेट बढाउँछौं। जनतालाई यो हाम्रै सरकार हो भन्ने बनाउँछौं।’
प्रचण्डले शान्ति प्रक्रियाका अधिकांश काम पूरा भएपनि केही काम बाँकी रहेको बताए। उनले भने, ‘हामीले शान्ति सम्झौता गर्यौं। त्यसैअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गरिरहेको छ। तर, काम असाध्यै धिमा छ, कछुवाको गतिमा छ। त्यसलाई गति दिएर द्धन्द्धपीडितलाई राहत दिन हामी प्रयास गरिरहेका छौं।’
उनले तात्कालीन माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्ध र जनआन्दोलनको तागतले निरंकुश राजतन्त्रको अन्त्य भएको बताए। प्रचण्डले भने, ‘हामीले जनयुद्धको घोषणा गर्यौं, त्यही जनयुद्ध र जनआन्दोलनको बलमा देशमा गणतन्त्र, संघीयताजस्ता मुद्दा स्थापित भएका छन्। दिलबहादुर रम्तेल लगायतका शहिदहरुको बलिदानीको नेकपा उच्च सम्मान गर्दछ।’



लाेकपाटी न्यूज

