गृहमन्त्रीकाे एक वर्ष : कति सफल कति असफल ?

Ram Bahadur Thapa
लाेकपाटी न्यूज

काठमाडौं, १४ फागुन । गृहमन्त्रालयले रामबहादुर थापा ‘बादल’ ले मन्त्रालय सम्हालकोे एक वर्षमा संरचनागत सुधार र शान्तिसुरक्षा तथा सुशासनको आधार तयार भएको बताएको छ ।

गृह मन्त्रालयले एक वर्षे उपलब्धी सार्वजनिक गर्दै शान्तिसुरक्षा तथा अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जानकारी दिएको हो ।

नागरिकको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्न आवश्यक उपयुक्त सुरक्षाको वातावरण निर्माणका लागि एक वर्षले आधार तयार गरेको गृह मन्त्रालयले जनाएको छ ।

संविधान, कानून र सरकारको मार्गचित्रलाई कार्यान्वयन गर्न गृह प्रशासन सुधार कार्ययोजना बनाई कार्यान्वयन गरिएको तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमा लागू गरिएको गृहमन्त्री थापाले बताए ।
उनले सङ्गठित अपराध नियन्त्रणमा सफलता मिलेको, यातायात क्षेत्रको सिण्डिकेट, विकास निर्माण र कानून कार्यान्वयनको क्षेत्रमा रहेका विकृति, अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए ।

गृह मन्त्रालयले सार्वजनिक गरेको १० महत्वपूर्ण उपलब्धिअन्तर्गत यस वर्ष २४ मध्ये २१ वटा कानून तर्जुमा भएको, मापदण्ड विपरीत व्यक्तिको सुरक्षामा खटिएका २७५ सुरक्षाकर्मी फिर्ता गरिएको, महिला बालबालिकासम्बन्धी छुट्टै अपराध तथा अनुसन्धान भवन निर्माण गरिएको उल्लेख छ ।

जबर्जस्तीकरणी अपराधका घटनामध्ये ९५ प्रतिशत घटनाको सफल अनुसन्धान गरिएको, अवैध सुन तस्करी र सङ्गठित अपराधको सञ्जाल नियन्त्रणमा सफलता मिलेको मन्त्रालयको दाबी छ ।

सुन तस्करीमा संलग्न ७५ मध्ये ४६ पक्राउ गरिएको, ३१ फरार रहेको, ३४ लाई अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको र ३६ अभियुक्तको चल–अचल सम्पत्ति रोक्का गरिएको मन्त्रालयद्वारा सार्वजनिक गरिएको विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार यातयात क्षेत्रमा रहेको लामो समयसम्मको सिण्डिकेटको अन्त्यका लागि नवीकरण गर्ने कार्य बन्द गरिएको, राजमार्गमा हुने अवरोध हटाउन सुरक्षा कारवाहीको कार्यविधि तयार गरी ७७ वटै जिल्लामा लागू गरिएकाले यस्ता अवरोध न्यूनीकरण भएको छ ।

विपद् व्यवस्थापन कार्य प्रभावकारी बनाइनु, नेपाल प्रहरीतर्फ सातै प्रदेशमा विपद् व्यवस्थापन कार्यदल बनाइनु, पाँचथर र सिंहदरवारमा कर्मचारीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइनु तथा सबै जिल्लाका प्रजिअसँग कार्यसम्पादन सम्झौता गरी कार्यान्वयनमा ल्याउनुलाई पनि मन्त्रालयले महत्वपूर्ण उपलब्धिका रुपमा लिएको छ ।

मुलुकको सङ्घीय संरचनाअनुसार सबै स्थानीय तहमा प्रहरीको पहुँच बढाइएको, सीमा क्षेत्रमा सशस्त्रको थप बोर्डर आउट पोष्टसहित ५६ वटा नयाँ एकाई स्थापना गरिएको तथा विदेशी नागरिक अनुगमन निर्देशिका कार्यान्वयनमा ल्याइएको सार्वजनिक विवरणमा उल्लेख छ ।

अध्यागमनको आधुनिकीकरण र व्यवस्थित गर्ने कार्य प्रारम्भ गरिएको मन्त्रालयले जनाएको छ । विप्लव नेतृत्वको नेकपाका ३४७ लाई पक्राउ गरी मुद्दा चलाइएको, सिके राउत समूहका व्यक्तिहरुलाई समेत कानूनी दायरामा ल्याएको र सूचना प्रविधिको प्रयोगलाई बढाई सुरक्षा निगरानी बढाइएको जनाइएको छ ।

प्राकृतिक प्रकोप तथा दुर्घटनाका घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार गर्ने कार्यलाई तीव्र बनाइएको तथा समुदाय–प्रहरी साझेदारी अभियान कार्यक्रमअन्तर्गत हालसम्म ७७ जिल्ला समिति, ७४७ गाउँ÷नगरपालिका समिति गठन गरी समुदायसँग मिलेर शान्तिसुरक्षा कायम गर्नेतर्फ सरकार अघि बढेको मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री थापाले गृह मन्त्रालय सम्हालेको एक वर्षको अवधिमा उनको थुप्रै आलोचना पनि भएको छ । खासगरि बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको, बलात्कार र हत्या बढेको भन्दै उनको अलोचना भएको हो ।

बलात्कार र व्यक्ति वेपत्ता पारेको आरोप लागेका तपस्वि रामबहादुर बम्जममाथि कारबाही नगरेको, सुन तस्करी नरोकेको, कामचोर ठेकेदारलाई कारबाही गर्ने भन्दै अभियान चलाएर बिचमै छाडेकोलगायतका विषयले पनि उनलाई विवादमा तानेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्