काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कलाकार नभए पनि कलाप्रेमी भएको बताएका छन् । ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’को उद्घाटनका क्रममा बोल्दै उनले भने, ‘म कलाकर होइन तर कलाप्रेमी हुँ ।’
सोही सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नाट्य क्षेत्रका लागि सरकारले बजेट छुट्याउने र नाटकघर निर्माणका लागि जग्गा पनि उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । यसका लागि सरकारले छलफल थालिसकेको प्रधानमन्त्री ओलीले जानकारी दिए ।
नाटक मनोरञ्जन मात्रै नभएको भन्दै आलीले भने, ‘नाटक व्यक्तिको प्रतिभाको साधना पनि हो । मानसिक रुपमा आफूलाई अब्बल बनाउँदै समाज रुपान्तरण गर्ने माध्यम मध्येको एक विशिष्ट माध्यम पनि हो ।’
उनले नाट्यकर्मीहरुबीच पनि विशिष्ट एकताको खाँचो रहेको बताउँदै एकताले नेपाली रङ्गमञ्चको अभ्यासलाई थप फराकिलो पार्ने सुझाए । महोत्सव उद्घाटन गर्दै उनले भने, ‘नाट्य क्षेत्रका लागि स्थान र अन्य सुविधामा सरकारले के कस्तो सहयोग गर्छ त्यस सम्बन्धमा सरकारी तबरमा हामीले विचार विमर्श प्रारम्भ गरेका छौं ।’
यता नाट्यकर्मीहरुले भने सरकारसँग नाट्य विश्वविद्यालयको माग गरेका छन् । नाटक विधाको अध्ययनका लागि नेपालमा नाट्य विश्वविद्यालय नभएको भन्दै नाट्यकर्मीहरुले सरकारसँग त्यस्तो विश्वविद्यालय खोल्नुपर्ने आग्रह गरेका हुन् ।
सोमबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ महोत्सवका निर्देशक तथा नाट्यकर्मी राजन खतिवडाले नेपालमा पनि अभिनय विधाको अध्ययनका लागि नाट्य विश्वविद्यालयको खाँचो रहेको बताएका छन् । उनले निजी क्षेत्रबाट नाट्य विधाको विकास र विस्तारको प्रयास भइरहे पनि त्यो पर्याप्त नभएको बताए । सरकारले कला साहित्यको विकास र विस्तारमा चासो देखाउनु पर्ने खतिवडाको भनाइ छ ।
नेपालमा नाट्यकर्मीहरुले नेपाली रंगमञ्चको कथा र शैली भन्न खोजीरहेको भन्दै उनले भने, ुहामी समाजबाट टाढा रहेर नाटकको साधनामा रम्न सक्तैनौं ।’
उनले नेपालमा नाटकको अध्ययन संस्कृति र अवसर नरहेको र अभ्यासकै भरमा नाट्यकर्मीहरु आजको अवस्थासम्म आइपुगेको बताए । स्रोत साधनको अभावमा नेपाली नाट्य क्षेत्र अगाडि बढीरहेको भन्दै उनले यसमा सबै पक्षको सहयोग आवश्यक रहेको समेत प्रष्ट्याए ।
उनले भने, ‘देशभर नाट्यकर्मीहरुले आफ्नै स्रोत र साधनमा नाटकघर बनाउने र नाट्य गतिबिधि गर्ने प्रचलन बढिरहेको छ । नाट्यघर नेपाली कला, साहित्य र संस्कृतिको उजागर गर्न प्रत्येक नगरनगरमा आवश्यक हुन्छ ।’
सीमित स्रोतसाधनबाट गरेको प्रयासले मात्रै नेपाली रङ्गमञ्च समृद्ध नहुने उनको तर्क छ । उनले भने, ‘आशा गरौं भविष्यमा यो देशमा नाट्य विद्यालय बनोस् । जहाँ मेरो हुर्कदैं गरेको छोराले आफ्नो स्कुलको पढाइ सकिने बित्तिकै नाटक विद्यालय जोइन गर्न पाओस् । जुन मैले मेरो जीवनमा कहिले पनि पाइन । मैले मेरो बाको हात समातेर नाट्य विद्यालय जान पाइन । म त्यो सपना देख्छु जो मेरा अग्रजहरुले पनि देख्नु भएको हो । र अहिले मेरा धेरै समकक्षी साथीहरुले पनि देखिरहनु भएको छ ।’
काठमाडौंका सातवटा नाट्य समूहले संयुक्त रुपमा आयोजना गरेको महोत्सवमा विभिन्न नाटक प्रदर्शन गर्नुका साथै समूहगत छलफल पनि आयोजना गरिएको छ ।



लाेकपाटी न्यूज

