चीनसँग मिलेर विकास गर्न चाहन्छौं : प्रचण्ड

Prachanda
लाेकपाटी न्यूज

काठमाडौं, १५ फागुन। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनसँग मिलेर विकास गर्ने उद्देश्यसहित आफ्नो प्रधानमन्त्री कालमा बेल्ट एण्ड रोड इनिसिएटिभ सम्झौतामा हस्ताक्षर गरिएको बताएका छन्।

बेल्ट एण्ड रोड इनिसिएटिभ सम्बन्धि दोस्रो सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले चीनसँग मिलेर विकास गर्न आफूहरु ईच्छुक रहेको दोहोर्‍याएका हुन्। सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले भने, ‘म दोस्रोपटक प्रधानमन्त्री हुँदा बेल्ट एण्ड रोड एनिसिएटिभमा हस्ताक्षर गरेको सम्झेको छु। छिमेकीहरुसँग मिलेर विकास गर्ने लक्ष्यका साथ उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।’

बेल्ट एण्ड रोड सम्बन्धि सम्झौतामा हस्ताक्षर गर्दा आफूलाई गर्व लागेको प्रचण्डले बताए । उनले भने, ‘बेल्ट एण्ड रोड धेरै दुरगामी योजना हो। यो चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको महत्वपूर्ण योजना हो। हामीले पनि नेपालको आर्थिक र पूर्वाधार विकासमा यसलाई महत्वपूर्ण रणनीति ठानेका छौं।’

प्रचण्डले २१ औं शताब्दीको प्रविधियुक्त विश्वमा कनेक्टिभिटीको धेरै ठूलो महत्व रहेको बताए। उनले केही चुनौति भए पनि नेपालको आर्थिक विकास र समृद्धिको यात्रा नरोकिने बताए। ‘अहिले हामीसँग बलियो २ तिहाईको सरकार छ। हाम्रो एक मात्र लक्ष्य विकास र समृद्धि हो, हामी सफल हुन्छौं’ प्रचण्डले भने।

नेपालले राजनीतिक परिवर्तनपछि शान्ति र विकासलाई सँगै लान खोजेको उनले बताए। प्रचण्डले भने, ‘राजनीतिक परिवर्तनपछि हामीले शान्ति र विकासलाई सँगैसँगै लैजान चाहन्छौं। तीव्र आर्थिक विकासबाट मात्रै कम्युनिष्ट सरकारको औचित्य पुष्टि गर्न सकिन्छ, त्यसमा केही चुनौति छन्। तर, अब विकास र समृद्धिबाहेक अर्को बाटो छैन।’

प्रचण्डले नेपालको आर्थिक विकासमा चीन सरकारले पुर्‍याएको सहयोगका लागि धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा पनि नेपाल र चीनबीच आर्थिक विकास र समृद्धिका क्षेत्रमा बलियो एकता कायम हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्