बाँके, १४ फाल्गुन । बाँकेको होलियामा हात्तीपाइले रोग नियन्त्रणका लागि आगामी फागुन १५ गतेदेखि अभियान शुरु गरिने भएको छ । होलिया स्वास्थ्य चौकीले ९ केन्द्रबाट औषधि सेवनको कार्यक्रम सञ्चालन गर्ने भएको सोमबार आयोजना गरेको अन्तरक्रियामा जानकारी दिएको हो ।
नवौं चरणमा खुवाउन लागिएको औषधि यसपटक स्वास्थ्यकर्मीले नै खुवाउने होलिया स्वास्थ्य चौकीका इन्चार्ज प्रेम सोमाईले बताए। १५ गते तोकिएका बुथमा औषधि खुवाइनेछ भने १६ गतेदेखि २६ गतेसम्म घरदैलो अभियान गरेर औषधि खुवाइने सिअहेब रण बहादुर चन्दले जानकारी दिए।
बिगतमा महिला स्वास्थ्य स्वयम्सेविकाबाट औषधि खुवाउने गरिएकोमा अभियानलाई थप प्रभावकारी बनाउन यसपटक स्वास्थ्यकर्मीबाटै औषधि खुवाउने तयारी गरिएको चन्दले बताए। सहभागीहरुले गाउँमा अझै चेतना पुग्न नसकेकाले औषधि खुवाउन समस्या उत्पन्न हुनसक्ने बताएका थिए।
वडा नं. १ का वडा अध्यक्ष पटेश्वर कुर्मीको अध्यक्षतामा भएको अन्तरक्रियामा प्रहरी चौकी होलियाका इन्चार्ज कविन्द्र कढायतले सम्भ्रान्त र हुनेखाने परिवारका सदस्यले नै हात्तीपाइले रोगविरुद्ध औषधि नखाइदिँदा रोग निवारणमा चुनौती बढेको बताए। उनले जनप्रतिनिधिलाई अभियानको अवधिभर स्वास्थ्यकर्मीसंगै रहेर औषधी खुवाउने कार्यमा सहयोग गर्न सुझाव दिए।
वडा सदस्य सुष्मा यादवले जान्ने बुझ्नेले औषधि नखाइदिँदा रोगको पूर्ण रोकथाममा समस्या देखापर्ने गरेको बताउँदै स्वास्थ्यकर्मी र वडाका प्रतिनिधिहरुको रोहबरमा औषधी खुवाउने बताइन् । उनले औषधि खाना अटेर गर्नेहरुको नामावली तयार गरी ३ महिनाका लागि वडाबाट प्रदान गर्ने सेवाबाट बञ्चित गर्ने बताइन्।
सिअहेब जयलाल उपाध्यायले बाँकेमा ५ लाख ८८ हजार २ सय ७८ जनालाई औषधि खुवाउन ३ सय ६८ स्वास्थ्यकर्मी खटिने बताए । सोहीअनुरुप होलियामा कर्मचारी खटाउने तयारी पूरा भएको बताए। उनले होलियाका स्वास्थ्यकर्मीलाई सघाउन महिला स्वास्थ्य स्वयंसेविकालाई खटाइने जानकारी दिए।
होलिया स्वास्थ्य चौकीका इन्चार्ज सोमाईले हात्तीपाइले रोग लागेमा हातखुट्टा र ग्रन्थी सुन्निने, हाइड्रोसिल हुने, स्तनमा गिर्खा देखिने लगायत समस्या देखिने भई समयमै उपचार हुन नसकेमा मानिसमा अपाङ्गता हुने खतरा रहेकोले औषधि खान सुझाव दिए।
वडा अध्यक्ष पटेश्वर कुर्मीले स्वास्थ्यकर्मीबाटै औषधि खुवाउँदा स्थानीयहरु विश्वस्त हुने भएकाले यो अभियान सफल हुने बताए। कार्यक्रममा औषधि खाँदा हुने रियाक्सन औषधिका कारण नभई किटाणुका कारण हुने भएकाले नडराउन अपीलसमेत गरे।
दीर्घरोगी, गर्भवती तथा ७ दिनको सुत्केरी महिला र २ वर्षमुनिका बालबालिकाबाहेक सबैले यो औषधि सेवन गर्न सकिने बताइएको छ । यो औषधिले कुनै पनि नकारात्मक असर नगर्ने कार्यक्रममा बताईएको थियो ।



लाेकपाटी न्यूज

