पोखरा, १३ फागुन । गण्डकी मेडिकल कलेज तनावग्रस्त बनेको छ । कलेज प्रशासनले विद्यार्थीबाट अनाधिृकत रुपमा असुलेको लाखौँ रुपैयाँ फिर्ता पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रेका विद्यार्थीले कलेजमा ताला लगाएको थिए । सो ताला प्रहरीले खोलेपछि अस्पताल परिसरमा अहिले नाराबाजी भइरहेको छ ।
प्रहरीले जबर्जस्ती रुपमा ताला खोलेको उनीहरुको आरोप छ । आक्रोशित विद्यार्थीहरुले फेरि ताला लगाउन खोजेपछि स्थिती तनावग्रस्त बनेको हो ।
आक्रोशित विद्यार्थीहरुले तालाबन्दी गर्न खोज्दा प्रहरीले रोक्न खोजेकाले प्रहरी र विद्यार्थीबीच धकेलाधकेल हुँदा नर्सिङकी एक विद्यार्थी रविना मिश्र घाइते भएर ईमरजेन्सीमा भर्ना भएकी छन् । प्रहरीले छातीमा हानेको उनले बताईन् । तर, प्रहरीले भने विद्यार्थीहरुलाई केही नगरेको दाबी गरेको छ ।
अस्पताल परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिती रहेको छ । कलेज प्रशासनले माग सुनुवाई नगरेको भन्दै विद्यार्थीहरुले कलेजको ओपिडी, ईसिएचएस, बिलिङ काउण्टर बन्द गरिदिएका थिए । प्रहरीले भने सोमबार बिहान विद्यार्थीहरु कलेज आईनपुग्दै ताला फुटाएको हो ।
उनीहरुले बिलिङ काउण्टर पुनः बन्द गरिदिएका छन् । आक्रोशित विद्यार्थीको भिडले अस्पतालभित्रै नाराबाजी गर्दै कलेज प्रिन्सिपल र मेडिकल सुपरिटेन्डेन्टको राजीनामा समेत माग गरेका छन् ।
विद्यार्थीहरुको आन्दोलनको आज २६ औँ दिन पुगेको छ । यस्तै, रिले अनसनको १६ औँ दिन पुगेको छ । कलेज प्रशासनले माग पुरा नगरेसम्म आन्दोलन फिर्ता नलिने विद्यार्थीहरुको भनाइ छ । विभिन्न चार बुँदे मागसहित आन्दोलनरत ८३ विद्यार्थीहरुले एमबिबिएसको परिक्षा समेत दिएनन् ।
विद्यार्थीहरुले सामाजिक सञ्जाल फेसबुकमा जिएमसी सोलिडारीटी फर जस्टिस पेज बनाएर आन्दोलनमा सहयोगको आह्वानसमेत गरेका छन् ।
सामाजिक सञ्जालमा राखिएको एक तस्बिरअनुसार २०१५ यताका ५१२ जना विद्यार्थीहरुबाट कलेज प्रशासनले ५१ करोड रुपैयाँ बढी शुल्क उठाएको उल्लेख गरिएको छ । एमबिबिएस, बिडिएस, बिएमएलटी, बिएमआईटी, बिएनएस, बिएस्सी नर्सिङ, फार्मेसीमा अध्ययनरत विद्यार्थीहरुबाट उक्त रकम उठाइएको विद्यार्थीहरुको आरोप छ । मनपरि रुपमा लिएको शुल्कको रसिद समेत कलेज प्रशासनले नदिएको आरोप उनीहरुको छ । खाली स्लिपमा हस्ताक्षर गरेर रकम बुझेको भन्दै जिल्ला प्रशासन कार्यालयमा समेत विद्यार्थीहरुले प्रमाण पेश गरेका छन् ।
यस्तै, पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न आएका विद्यार्थीहरुबाट पनि कलेजले विभिन्न शीर्षकमा रकम उठाउने गरेको आरोप विद्यार्थीहरुले लगाएका छन् ।
यता बैदाम प्रहरी कार्यालयका डिएसपी कोमल शाहले कलेज प्रशासनकै रोहबरमा ताला खोलिएको बताएका छन् । ‘अति आवश्यक सेवा पनि बन्द भएका कारण कलेज प्रशासनको रोहबरमा ताला खोलेका हौँ’ उनले भने ।
विद्यार्थीहरुले ईमरर्जेन्सी सेवा भने बन्द गरेका छैनन् । कलेज प्रशासनले केही दिन अघि सञ्चारमाध्यममा सार्वजनिक आह्वान भन्दै ईमरजेन्सी सेवा पनि बन्द भएको सूचना प्रकाशन गरेको थियो ।



लाेकपाटी न्यूज

