यी हुन् डिप्रेसनका लक्षण र उपचार

डिप्रेसन
लाेकपाटी न्यूज

काठमाडौं । उदास, दुःखी, बोर वा दिक्दार अनुभव हुँदैमा डिपे्रसन भएको बुझ्न मिल्दैन । तर, यसरी उदास अनुभव हुनु मनोरोगको प्रमुख लक्षण भने अवश्य हो । मनोरोगको लक्षण मानिने उदास अनुभवलाई धेरैले रोगकै अंश हो कि प्रतिकूल परिस्थितिको स्वाभाविक प्रतिक्रिया भनी छुट्याउन सक्दैनन्।

जसले गर्दा समस्याको पहिचान र उपचारमा कठिनाइ हुनेगर्छ। डिप्रेसनका बहुसंख्यक रोगीमा यो समस्याको न निदान हुन्छ, न उपयुक्त उपचार नै। त्यसैले जुनसुकै समाजमा मनोरोगका बिरामीको संख्या अत्याधिक हुनेगर्छ । विश्व स्वास्थ्य संगठनले संसारमा मानव जातिलाई सताउने १० मुख्य स्वास्थ्य समस्यामा मनोरोगले निकट भविष्यमा नै उच्च रक्तचापलाई उछिनेर पहिलो हुने प्रक्षेपण गरेको छ ।

यति भयावह अवस्थातर्फ उन्मुख हुँदा पनि मनोरोगबारे जागरुकता देखिँदैन या भनौं यसलाई प्राथमिकतामा पारिएको छैन । मनोरोगको प्रमुख हिस्साका रुपमा रहेको डिप्रेसनबारे हाम्रो समाजमा धेरै छलफल र बहस हुने गरेको छैन । जसको फलस्वरुप यो रोग भुसको आगोजस्तो फैलिँदै गइरहेको पाइएको छ ।

डिपे्रसनका धेरै रोगी सही उपचार नपाएर रोकथाम हुनसक्ने विभिन्न जटिलता भोगिरहेका हुन्छन्। यो समस्या कम गर्न सबैले मनोरोगबारे कम्तिमा आधारभूत तथ्यहरु जानी राख्नु आवश्यक छ । ‘यो त कमजोर मन भएकाहरुलाई लाग्छ, मेरो मन बलियो छ मलाई लाग्दैन’ भन्ने धेरै मानिस यसको चपेटामा परेका छन्। त्यसैले जुनसुकै समाज, वर्ग, उमेर समूहका मानिसलाई सताउन सक्ने डिप्रेसनबारे आफूले पनि जानी राखौँ र अरुलाई पनि बताऔँ ।

कस्तो उदास अनुभवलाई डिप्रेसन भन्ने ?

जब कुनै व्यक्तिको उदास अनुभव आफ्नो नियन्त्रणभन्दा पर पुग्छ भने त्यो डिप्रेसनको लक्षण हो । यस्ता अनुभव कम्तिमा दुई हप्तासम्म हरेक दिन हुन थाल्यो, जति कोसिस गरे पनि उदास अनुभवले छोडेन, यस्तै अनुभवका कारण बेचैनी बढ्यो, दैनिक गतिविधिमा असर पर्न थाल्यो र अरु लक्षण पनि देखा पर्न थाले भने यसलाई सामान्य उदासीपन ठान्नु गलत हुनेछ। यस्तो अवस्थालाई डिप्रेसन भएको बुझ्न सकिन्छ ।

मनोसामाजिक रुपले विषम परिस्थिति र तनावग्रस्त व्यक्तिमा प्रायः लाक्षणिक रुपमा र पछि रोगकै रुपमा डिप्रेसनको समस्या देखिन्छ। यद्यपि तनावरहित अवस्थाका व्यक्तिलाई पनि डिप्रेसनले सताउन सक्छ। विविध कारणले सेरोटोनिन, नरअड्रिनालिन जस्ता स्नायु रसायनको कमी, तिनले काम गर्ने विशेष अवयव (रिसेप्टर) र तिनको उत्पादन हुने प्रक्रियामा समस्या हुँदा उदासीपन देखापर्छ। वंशाणुगत र जैविक जोखिमलाई मनोसामाजिक तत्वहरु र परिस्थितिले डिप्रेसनतिर धकेल्न बढावा दिन्छ । यसरी कुनै व्यक्ति डिप्रेसनको शिकार हुनमा मनोसामाजिक र जैविक तत्वहरुको अन्तरक्रिया हुने गर्दछ ।

डिप्रेसनमा के–कस्ता लक्षण देखिन्छन् ?

डिप्रेसन भएका व्यक्तिमा मानसिक, शारीरिक र सामाजिक रुपमा असर पार्ने निम्न लक्षण देखिन्छन्।

मानसिक वा मनोसामाजिक लक्षणहरु

–प्रायःजसो समयमा उदास, दुःखी, बोर वा दिक्दार रहनु ।

–दैनिक कामकारबाही र सामाजिक व्यवहार वा अरुसँगको अन्तरसम्बन्धमा रुचि कम हुँदै जानु ।
–अरुबाट एक्लिनु वा एकान्तमा रहनु ।

–केही काम गर्ने जाँगर र आत्मविश्वास हराउनु ।

–सोच्न र सम्झन नसक्ने हुनु ।

–आफू बेकामे, बेसहारा भएको ठान्नु र भविष्य अन्धकार लाग्न थाल्नु ।

–सानातिना कुरामा अत्याधिक चिन्ता लाग्नु र छट्पटी बढ्नु ।

–बाँच्ने चाहना कम भई आत्महत्याका विचार आउनु ।

–कडा खालका डिप्रेशनमा हुँदै नभएका कुरा सुन्ने, देख्ने र आभास हुनेजस्ता लक्षण देखिनु ।

शारीरिक लक्षण

–अस्वाभाविक रुपले सिथिल वा कमजोर अनुभव हुनु ।

–भोक कम वा ज्यादा हुनु र त्यसैअनुसार तौलमा कमी वा बृद्धि हुनु ।

–निद्रा कम वा बढी लाग्नु र बिहान उठ्दा ताजा महसुस नहुनु। जिउ भारी र बोधो हुनु ।

–यौन चाहना र तुष्टिमा कमी आउनु ।

–कब्जियत हुनु र महिनावारीमा गडबडी आउनु ।

–कतिपय बिरामीमा टाउको, जिउ वा शरीरका अरु भाग दुखिरहने तर शारीरिक परीक्षणमा चित्त बुझ्दो प्रमाण नभेटिने हुनु ।

उपचार विधि

डिप्रेसनको उपचार बहुआयामिक हुने गर्छ । यसमा तनावको समाधान, यसको बहन गर्ने क्षमता, सीप र कला अभिवृद्धि गर्ने मनोवैज्ञानिक विधि उपयोगी हुन्छ। अरु व्यक्तिसँग गलत र अनुपयुक्त अन्तरक्रिया र एकआपसको कलह पनि डिप्रेसनको पृष्ठभूमि तयार पार्न सक्छ। डिप्रेसन भएपछि पनि कतिपय बिरामीको अन्य व्यक्तिसँगको सम्बन्धमा चिसोपन आउन सक्छ।

अतः यस्ता व्यक्तिको अरुसँगको सम्बन्ध सुमधुर बनाउने र सरसल्लाह अनि सहयोगको वातावरण बनाउने तरिका उपचारको अभिन्न पाटो हुनेगर्छ। उदास हुने व्यक्तिहरुको सोच, विचार र व्यवहारमा हावी हुने विकृतिलाई सुधार गर्ने मनोवैज्ञानिक तरिका पनि बिरामीहेरी आवश्यक पर्न सक्छ ।

अहिले बिरामीको लक्षण र आवश्यकता हेरी विविधखालका लक्षण कम गर्ने औषधि पाइन्छन्। रोग निको पार्ने र पछि हुनबाट रोकथाम गर्ने गुण भएका भरपर्दा र सुरक्षित धेरै औषधिको विकास भइसकेको छ । कडा डिप्रेसनमा चिकित्सकको सल्लाहमा बिजुलीको ‘सेक’ दिने उपचार पनि अति उपयोगी र सुरक्षित मानिन्छ । उपचारबाट लक्षण हटेपछि पुनस्र्थापनाका कार्यक्रम आवश्यक हुन्छ ।

बिरामी र परिवारले के गर्ने ?

पहिला त, यो रोगलाई बुझ्नु नै ठूलो कुरा हो । परिवारमा कसैलाई डिप्रेसन छ भने ऊप्रतिको समझदारी एकदम आवश्यक हुन्छ। यसका लागि आफूले सत्यतथ्य बुझेर अरुलाई पनि यसबारे बुझाउनुपर्छ । रोगकै हिसाबले यो समस्या भएको छ भने बिना हिच्किचाहट सम्बन्धित चिकित्सक वा विज्ञसँग परामर्श लिनुपर्छ। यसको निदान बिरामीको उपचारका लागि हुनेगर्छ, अन्यथा सोच्नु हुँदैन । डिप्रेसनको निदान भएकोमा चिन्ता मानेर बस्नुभन्दा पनि उपचारको उचित उपयातिर लाग्नुपर्छ। सहयोगी साथीभाई र आफन्तको सल्लाह लिनु बिरामीले आनाकानी मान्नु हुँदैन । सकेको काम, हलुका व्यायाम वा यस्तै कुरामा मन बहलाउने कोसिस गर्नुपर्छ ।

विज्ञको सल्लाहमा औषधि आवश्यक मात्रा र अवधिका लागि सेवन गर्नु लाभदायी हुन्छ । बिरामीलाई उपचारका लागि सम्बन्धित स्थानमा लान, उपचार सुरु गर्न, फलोअपमा रहन, ठिक भएपछि पनि पुनस्र्थापना गर्न र पछि दोहरिन नदिन परिवारजन र साथीभाइको ठूलो भूमिका रहनेगर्छ । परिवारका सदस्यले यस्ता बिरामीको औषधि राखिदिने र सेवनका लागि हौसला दिने गर्नुपर्छ। कतिपय बिरामीले आफैंँलाई हानी पुग्ने गतिविधि गर्ने सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउनु जरुरी छ ।

रोकथामको लागि के गर्ने ?

डिप्रेसनले जसलाई पनि सताउन सक्छ तर खास जोखिम वा खतरा भएका व्यक्तिबारे सावधानी अपनाउनु आवश्यक छ । यसको खतरा भएका व्यक्तिले त्यसै अनुसार आफ्नो जीवनशैली, व्यवहार, आहार, विहार र विचारमा सन्तुलन राख्न सिक्नुपर्छ । स्वस्थ आहार, विहार र विचारले समग्र स्वास्थ्यका लागि लाभ गर्छ भने उदासिन मनोरोगको रोकथाममा पनि सघाउँछ ।

डिप्रेसनमा जान नदिन मन र शरीरलाई स्वस्थ राख्नु जरुरी छ । तनाव बहनका सीप र क्षमता बढाउने तरिकास योगस व्यायामस साथ, सहयोग र सुमधुर सम्बन्धको माहोलस समझदार र अनुशासित परिवारस अस्वस्थ प्रतिस्पर्धारहित समाजस संस्कृति र परम्परा अनुकूल व्यवहार आदि कुरामा ध्यान दिनुपर्दछ। रोग लागेर निको भइसकेकाहरुले पुनः नदोहरियोस् भन्नका लागि सतर्कता अपनाउनुपर्छ। जस्तैः विज्ञको सल्लाह अनुसार आवश्यक अवधि र मात्रामा औषधि लिने, धूमपान–मध्यपानबाट टाढा रहने, कुनै रोग लागेमा समयमै उपचार गराउने, निद्रा पर्याप्त पुग्नेगरी सुत्ने आदि ।

आफू वा परिवारका सदस्य डिप्रेसनमा रहेको कुरा चाल पाएपछि आवश्यक उपचार थाल्न रोगका लक्षण, उपलब्ध उपचार विधि, सेवासुविधा र अन्य आवश्यक जानकारीबारे सजग रहनुपर्छ। यसले उपचारमा ढिलाइ र उपचार नपाउँदा हुन सक्ने आत्महत्या जस्ता घटना रोकथाममा सहायता पुग्छ । तसर्थ, तपाईंहामी सबैले डिप्रेसनबारे जानकारी भएको लेख पढौँ, जानकार र विज्ञहरुको राय सुनौँ, यसबारे खुलेर कुरा गरौँ र सत्यतथ्य बुझिराखौँ । अरुलाई पनि यसबारे जान्न, सुन्न, बुझ्न र कुरा गर्न प्रेरित गरौँ। डिपे्रसनको समस्यालाई लुकाउने भन्दा पनि यसबारे व्यापक मन्थन थालौँ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्