‘कार्यालय जति सुन्दर छ, सेवा नि त्यति सुन्दर दिनुस्’ : आइजीपी खनाल

i g p
लाेकपाटी न्यूज

काठमाडौं, १३ फागुन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नवनिर्मित प्रहरी कार्यालय भवनसँगै प्रहरीले सेवाग्राहीलाई प्रदान गर्ने सेवा पनि मन, वचन र कर्मले शुद्ध र सुन्दर हुनुपर्ने बताएका छन् ।

प्रहरी प्रधान कार्यालय परिसरभित्र नवनिर्मित पश्चिम गेट, आगन्तुक कक्ष, नयाँ प्रशासनिक भवन तथा राष्ट्रिय वाणिज्य बैंकको नवनिर्मित एटीएमको उदघाटन तथा नवनिर्माण हुने अडिटोरियम हलको शिलान्यासका अवसरमा सोमबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्रहरीको सेवा प्रवाह शुद्ध र विश्वसनिय हुनुपर्ने बताएका हुन् । उनले भने,  ‘कार्यालय जति सुन्दर छ, सेवा पनि त्यति नै सुन्दर दिनुस् ।’

खनालले नवनिर्मित भवन आधुनिक तथा प्रविधियुक्तका साथै सुरक्षित हुनुपर्ने चर्चा गर्दै प्रहरी प्रधान कार्यालय बाहिर निर्माण हुने भवनहरुलाई समेत प्रेरित गर्न सक्ने हुनुपर्नेमा जोड दिए । नवनिर्मित भवनको भरपुर उपयोग हुनुपर्ने र यसले अपनत्व तथा भाइचाराको विकासमा सहयोग पुग्ने खनालको विश्वास छ ।

बहुआयामिक दृष्टिकोणले निर्माण हुन लागेको अडिटोरियम हल तोकिएकै समयमा गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्नेतर्फ निर्माण टोलीलाई अझै सजग रहन आग्रह गर्दै प्रहरी महानिरीक्षक खनालले बहुआयामिक हलको अभाव पूर्ति गर्न हलले सहयोग र्पुयाउने चर्चा गरे ।

एटीएम राख्न राष्ट्रिय वाणिज्य बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै प्रहरीको क्षमता विकास, प्रहरीलाई आधुनिक एवं प्रविधियुक्त बनाउने सन्दर्भमा बैंकको सदैव सहयोग मिल्ने अपेक्षा राखिएको उनले बताए ।

समारोहमा धन्यवाद व्यक्त गर्दै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान तथा कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले भौतिक पूर्वाधारको अभावमा पनि प्रहरी युनिटहरुले सेवा प्रदान गर्दै आएको सन्दर्भमा नवनिर्मित भवन पश्चात् थप उर्जा प्राप्त हुनुका साथै प्रहरी सेवामा नवीन सोचका साथ उच्चस्तरीय सेवा प्रवाह हुने विश्वास व्यक्त गरे ।

प्रहरी प्रधान कार्यालय परिसरलाई आधुनिक एवम् व्यवस्थित बनाउनुका साथै सुरक्षित सेवा प्रवाह गर्ने हेतुले थप भौतिक पूर्वाधारहरु निर्माण गरिएको हो । नवनिर्मित प्रशासनिक भवनमा हाल अपराध अनुसन्धान एवम् कार्य विभाग र मानवश्रोत एवम् प्रशासन विभागका साथै सूचना प्रविधि निर्देशनालय समेतबाट कार्य संचालन भइरहेको छ ।

नेपाल सरकारको नियमित बजेट र शान्ति तथा पुननिर्माण मन्त्रालयको सहयोगमा कुल २२ करोड ५४ लाख २१ हजार ३ सय २४ रुपैयाँ ५९ पैसाको लागतमा भवन निर्माण गरिएको हो ।

साथै कुल २३ हजार ७ सय २५ बर्गफिटमा बेसमेन्ट सहित निर्माण हुने २ तले अडिटोरियम हलमा भिभिआइपी लन्चसहितको मुख्य हल, कन्फेरेन्स तथा मिटिङ हल रहनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्