कमल थापाकाे प्रश्न : गणतन्त्रबाट देशले के पायाे ?

kamal thapa
लाेकपाटी न्यूज

काठमाडौं, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछि देशले के पायो भनेर प्रश्न गरेका छन् । गणतन्त्र स्थापनापछिका १२ वर्षको समिक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस विषयमा गम्भीर समिक्षा गर्नुपर्ने बताएका हुन् ।

उनले प्रश्न गरे, ‘यो १२ वर्षको अवधिलाई इमानदारितापूर्वक समिक्षा गरौँ । किन देशमा स्थायित्व भएन ? किन परिवर्तन भएन ? राष्ट्र विखण्डनको आवाज किन उठ्यो ? शान्ति प्रक्रिया टुङ्गिनुपर्ने बेलामा अर्को माओवादी विद्रोहको बिउ कहाँबाट र किन आयो ?’

रिपोर्टस क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले पछिल्लो १२ वर्ष देशले अवलम्बन गरेको मार्गचित्र नै त्रुटिपूर्ण भएको दाबी गरे । थापाले २०६२ सालमा तत्कालिन नेकपा माओवादी र ७ दलबीच भारतमा भएको सम्झौतालाई त्यसबेला नै आफूहरुले अपवित्र भनेर टिप्पणी गरेको समेत स्मरण गराए ।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विधि र प्रक्रिया मिचेर जनतालाई थाहै नदिई ल्याएकाले अब समिक्षा गर्नुपर्ने बेला आएको थापाको जिकिर छ । थापाले यस्तै अवस्था रहे आगामी दिनमा नेपालमा ठूलै राजनीतिक अराजकता निम्तिन सक्ने चेतावनी दिँदै लोकतन्त्रसहितको राजसंस्थाको पनि आवश्यकता रहेको औँल्याएका छन् । गणतन्त्रले बेथिती मात्रै बढाएको भन्दै अब लोकतन्त्रसहितको राजसंस्था स्थापना गर्नुपर्ने थापाको भनाई छ ।

उनले यी सबै विषयमा गोलमेच सम्मेलन गर्न सरकारसँग मागसमेत गरे । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रका बारेमा पुष्टी गर्दै थापाले फागुन मसान्तसम्म सरकारले सकारात्मक सम्बोधन नगरे चैत्र १ गतेदेखि जनसंघर्ष सुरु गर्ने घोषणा गरे ।

२२ बुँदे माग समेटिएको ज्ञापनपत्रमा नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने, गोलमेच सम्मेलन तथा सुशासनका लागि २०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिनलगायतका माग समेटिएको जानकारी पनि थापाले दिए । राप्रपाले सरकारलाई दबाब दिन फागुन १५ गतेदेखि गर्ने राष्ट्रिय स्वाभिमान यात्राको औचित्य पनि थापाले पुष्टि गरेका छन् ।

पार्टीले १५ गते ताप्लेजुङका सदरमुकामबाट मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा प्रारम्भ गर्ने पनि जनाए । थापाकाअनुसार हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिने यात्राको मुख्य उद्देश्य रहेको छ । त्यसैगरी संघीयता कार्यान्वयन र चुनौति, धर्म निरपेक्षता, गणतन्त्र लगायतका विषयमा जनताको अभिमत बुझ्नका लागि पनि यात्रा गर्न लागिएको थापाले बताए ।

ताप्लेजुङबाट शुरु भएको यात्रा पाँचथर, इलाम हुँदै कञ्चनपुरसम्म पुग्ने र त्यहाँबाट फर्केर बुटवल, पाल्पा, स्याङ्जा, कास्की हुँदै काठमाडौं आएर समापन हुने छ । ताप्लेजुङबाट काठमाडौंसम्मको १५ दिने यात्राले दुई हजार ८ सय किलोमिटर दूरी तय गर्ने र यात्राका क्रममा हिन्दू, बौद्ध र किराँत धर्मलाई चिनाउने मन्दिर, चैत्य मस्जिद बनाइने छ । यात्राका क्रममा विभिन्न नदी तथा कुण्डका जल काठमाडौंमा आयोजना हुने कलशयात्रामा प्रयोग गरी पशुपतिनाथ मूर्तिमा अभिषेक गराइनेछ । यात्राका क्रममा साना–ठूला १०० भन्दा बढी सभा हुने र ती सभालाई अध्यक्ष थापाले सम्बोधन गर्नेछन् ।

२२ बुँदे मागपत्रलाई सरकारले बेवास्ता गरेमा चैत्र एक गतेदेखि सबै स्थानीय निकायबाट विरोधका कार्यक्रम सुरु गरिने थापाले जानकारी दिए । उक्त विरोधलाई काठमाडांैसम्म विस्तार गर्ने थापाको भनाइ छ । थापाले केपी ओली नेतृत्वको सरकारले एक वर्षमा जनतालाई निराशा मात्रै दिएको आरोप पनि लगाए ।

पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहोनीबीचको एकताबारे थापाले गम्भीर प्रश्न उठाएका छन् । ‘पशुपति शमशेर राणाले जवाफ दिनुपर्छ हामीसँग किन एकता गर्न चाहनुभएन ? किन प्रकाशचन्द्र लोहोनीसँग एकता गर्नुभयो ?’ थापाले प्रश्न गरे ।

२ लाख भोट ल्याउने पार्टीलाई छोडेर २० हजार भोट भएको लोहोनीसँग राणाले एकता गर्नुको रहस्य गम्भीर हुन सक्ने थापाको भनाइ थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्