काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आफू कुनै पदको लोभी नभएको स्पष्ट पारेका छन्।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शर्माले आफूले पद नखोजेको र पद हत्याउने कुनै योजना नरहेको स्पष्ट गरेका हुन् । केही दिनयता मन्त्रीमण्डल फेरबदल हुने र जनार्दन मन्त्री बन्ने लाइनमा रहेको समाचार सार्वजनिक भइरहेका थिए ।
शर्माले पछिल्लो समय सरकारले संघीयताको मर्मबोध गर्न नसकेको र स्थानीय सरकारलाई कमजोर बनाएको बताउँदै आएका छन् । संघीयता भनिए पनि व्यवहारमा केन्द्रमै अधिकार राख्ने र कर्मचारीतन्त्र नै शक्तिशाली बनाउने सरकारी निर्णयको उनले आलोचना गर्दै आएका थिए।
कतिपयले सरकारका कामप्रति शर्मा कडा हुनु पदको बार्गेनिङ हुनसक्ने खालका भ्रामक टिप्पणीसमेत गर्दै आएका थिए । तर, शर्माले आफूले पदका लागि राजनीति नगरेको र जनताको एजेण्डासँग हातेमालो गर्ने स्पष्टिकरण दिएका हुन्। यस्तो छ शर्माको स्टाटस।
‘सङ्घीयता कार्यान्वयनको एजेण्डाप्रति सचेततापूर्वक लागेको कुराबाहेक अन्य पद खोज्दै नहिडेको र योजना नबनाएको स्पष्ट गर्दछु। चासो चिन्ता भएका व्यक्तिहरुले मन्त्री नियुक्ति गर्ने र बर्खास्ती गर्ने सम्बन्धी निकाय वा मेरो नाम प्रयोग गरी समाचार बिकाउन मेहेनत गर्नेहरुसँग सिधै सम्पर्क गर्न अनुरोध गर्दछु ।’



लाेकपाटी न्यूज

