काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस केन्द्रीय समितिले बहुमतबाट विधान पारित गरेपछि लफडा देखिएको छ । दुई महिनाअघिको महासमिति बैठकमा सर्वसम्मत विधान हिजोको बैठकसम्म आइपुग्दा बिवादित बनेको हो ।
आइतबारको बैठकमा विधानप्रति असहमति जनाउँदै बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत नेताले नोट अफ डिसेन्ट लेखेका छन् । मुख्यगरी केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधिका रूपमा स्वतः आउने कि तल्लो तहदेखि निर्वाचित हुने, समानुपातिक तर्फका सांसद दोहोरिने कि नदोहोरिने भन्नेमा केन्द्रीय समितिमा विवाद थियो ।
रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र संस्थापन पक्षकै केही नेताले केन्द्रीय सदस्य स्वतः प्रतिनिधि बन्न नहुने अडान राखेका थिए । तर, विधान परिमार्जन भएन । पारित विधानअनुसार अब केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्नेछन् भने समानुपातिक सांसद दोहोरिन पाउनेछन् ।
महासमिति बैठकमा ५० भन्दा बढी कांग्रेस जिल्ला सभापति र थुप्रै महासमिति सदस्यले केन्द्रीय नेता तलबाटै निर्वाचित भएर आउँदा नेता–कार्यकर्ताबीचको दूरी घट्ने, संगठन प्रभावकारी बन्ने तर्क गरेका थिए । महासमिति समापनमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले सदस्यहरूको भावनालाई केन्द्रीय समितिमार्फत विधानमा समेट्ने वाचा गरेका थिए । त्यसैका आधारमा विधान महासमितिमा सर्वसम्मत बनेको थियो ।
आइतबारको बैठकमा विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले परिमार्जित विधान पास गर्न प्रस्ताव गर्नुभयो । पार्टी संस्थापनपक्षीय नेताले विधान पारित गर्न टेबल ठोके पनि पौडेल र सिटौलाले असन्तुष्टि व्यक्त गरे । बहुमतबाट विधान पारित गर्दा महासमितिको भावना र निर्णयलाई केन्द्रीय समितिले बेवास्ता गरेको ठहरिने पौडेल सिटौलाको भनाइ छ ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीले पदाधिकारी र केन्द्रीय सदस्यको मर्यादा घटाउने काम गरेको बताए। ‘सभापति र नेताले केन्द्रीय सदस्य पनि जितेर आएपछि मात्रै महाधिवेशन प्रतिनिधि हुन पाउने गरी बोल्नुभएको थियो । तर, महासमितिमा धेरै माग भएको यो विषयलाई केन्द्रीय समितिले बहुमतबाट निर्णय गरेपछि यसले पदाधिकारी र केन्द्रीय सदस्यहरूको मर्यादा घटायो,’ उनले भने, ‘हाम्रा केन्द्रीय सदस्यहरू तलबाट आउन नसक्ने भए, डराए, जित्ने हैसियत छैन भन्ने सन्देश गयो । पार्टीका सभापतिको प्रतिबद्धतासमेत पूरा नहुने र आफ्नै कार्यकर्तालाई नेताले विश्वास नगरेको देखियो । यो राम्रो भएन ।’
बैठकमा रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, डा रामशरण महत, चन्द्र भण्डारी, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, रामकृष्ण यादवलगायतले नोटअफ डिसेन्ट लेखेका छन् ।
यसैगरी केन्द्रीय सदस्य बलबहादुर केसीले महासमिति बैठकको भावनाविपरीत विधानलाई पास गर्नु ‘कांग्रेसका लागि कालो दिन’ रहेको टिप्पणी गरे । कोषाध्यक्ष सीतादेवी यादवले अरू पदाधिकारीको जस्तै कोषाध्यक्षको पनि निर्वाचन गर्नुपर्ने माग गर्दै ‘नोट अफ डिसेन्ट’ लेखिन् ।
कांग्रेसमा यसअघि ६ पदाधिकारीसहित ८५ सदस्यीय केन्द्रीय समिति थियो । अब १ सय ६७ सदस्यीय समितिमा १४ पदाधिकारी हुँदै छन् । कोषाध्यक्षबाहेक सभापति, दुई उपसभापति, दुई महामन्त्री र क्लस्टरका आधारमा ८ सहमहामन्त्री निर्वाचित हुनेछन् ।
त्यस्तै, यसअघि पाँचवटा पार्टी तह रहेकोमा अब सात प्रदेश समिति, प्रदेश सभा क्षेत्रीय समिति र बुथ समिति नयाँ तहका रूपमा थपिएका छन् । संविधान बनेको साढे तीन वर्षपछि कांग्रेसले आफ्ना पार्टी संरचनालाई संघीय प्रणालीअनुसार बदलेको छ ।



लाेकपाटी न्यूज

