काठमाडौं, १२ फागुन । गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रबार देशका ६ वटा प्रदेशका करिब २० जिल्लामा एनसेलका टावरमा आक्रमण गर्ने तत्वको पहिचान भइसकेको दाबी गरेका छन् ।
आइतबार संसदको राज्य व्यवस्था समितिमा बोल्दै गृहमन्त्री थापाले भने, ‘हालसम्म कसैले जिम्मेवारी त लिएको छैन् । तर, अहिलेसम्म प्राप्त अनुसन्धानको रिपोर्टले राज्यविरोधी, संविधानविरोधी शक्तिले त्यस्तो गरेको बुझिएको छ ।
उनले अझ स्पष्ट रुपमा नामै किटेर नेकपा विप्लव समूहले यस्ताे बमकाण्ड मच्चाएकाे पनि उल्लेख गरे ।
गृहमन्त्रीका अनुसार देशव्यापी रुपमा पार्टीको केन्द्रीय योजनाअनुसार आक्रमण गरेको बुझिएको छ । ‘अहिलेसम्म अज्ञात भन्ने छ । तर सिरियल्ली हेर्दाखेरी विगतमा निर्वाचन आयुक्तकोमा बम विस्फोट गराइएको र उनीहरुको भर्खर बसेको बैठकले गरेको निर्णय तथा राज्यलाई प्राप्त डकुमेन्टबाट सत्ता उल्टाउनका लागि लागिपरेको यही समूह भन्ने छ’, उनले भने ।
घटनामा संलग्न रहेको आशंकामा देशभरबाट १६ जनालाई पक्राउ गरिएको जानकारी उनले दिए । साथै आक्रमण गर्ने टिमहरुको पहिचान गरिएको र पक्रने प्रक्रिया अघि बढिरहेको पनि गृहमन्त्रीले समितिलाई जानकारी दिएका छन् ।



लाेकपाटी न्यूज

