पोखरा, फागुन। पर्यटकीय शहर पोखरामा भएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनमा सहभागी पत्रकारले पोखराका विभिन्न दृश्यावलोकन गरेर मनोरञ्जन लिएका छन्। सधैँ कामको तनाव र हतारको जिन्दगीबाट बेफुर्सदिला रहने पत्रकारले आफ्ना लागि केही समय निकाले, पोखराको दुईदिने बसाइँलाई भरपूर सदुपयोग गरे।
तनहुँका पत्रकार सोनी शर्माले भने, “जिन्दगी सधै हतार र बेफुसर्दिलो, सधैँ पोखरा आए पनि मेसो नमिलेको प्याराग्लाइडिङ यसपालि मेसो मिलाएर उडियो बेग्लै आनन्द मिल्यो, यो अवसर महासङ्घको कार्यक्रमले जुरायो।” “आहा त्यो आनन्द, चिल सँगसँगै आकाशमा, तल फेवाताल, वरिपरिका रमणीय डाँडा र हिमशृङ्खला, पहँेलपुर तोरी फुलेका फाँट, मिलेका बस्ती कुन शब्दमा उतारुँ”, शर्मा भन्छन्।
भोजपुरका पत्रकार राजेश राई भन्छन्, “पोखराको बसाइँ संस्थागत उपलब्धि र व्यक्तिगत मनोरञ्जन दुवैका हिसाबले उत्कृष्ट रह्यो। विधान अधिवेशन ऐतिहासिक रूपमा सम्पन्न भयो। त्यसलगत्तै श्रीमतीका साथ सुन्दर पोखराको घुमाइ जारी छ”, राई भन्छन्, “फेवातालमा डुङ्गा सयर गर्दै तालमा हिमालको दृश्य देख्न पाउनुको आनन्द, शान्ति स्तुपाबाट पोखरा नियाल्नुको मजाले मनलाई आनन्दित बनाइरहेको छ।” पोखरा अझ केही दिनको बसाइँमा प्याराग्लाइडिङ गर्दै पोखराको अनुपम दृश्यलाई आँखामा कैद गर्न बाँकी छ।
चितवनका पत्रकार शिशिर सिम्खडा पनि पोखराको आतिथ्यताले निकै लोभ्याएको बताउँछन्। “सुन्दर शहर र सुन्दर मनको धनी पोखराको आतिथ्यता तीन वर्षअघिभन्दा धेरै फरक पाएँ”, “प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष घोषणा गरेको छ। यो सफल हुनेमा मलाई विश्वास छ।” पोखराको बसाइ संस्थागत हिसाबले त ऐतिहासिक रह्यो नै घुमघाम पनि अविस्मरणीय रहेको सिम्खडा बताउँछन्। छोटो बसाइँमा पनि सराङ्कोट, शान्तिस्तुपा, फेवाताल, महेन्द्रगुफा, डेभिज फललगायतका स्थानको अवलोकनले बेग्लै अनुभूति सङ्गालेर फर्किएको उनको भनाइ छ।
अधिवेशनमा सहभागी हुन पोखरा आएका पत्रकार चाँदनी हमाल पनि वर्षौदेखि प्याराग्लाडिङ गर्ने रहर महासङ्घको कार्यक्रमसँगै पूरा गर्न पाएको बताउँछन्। “पोखरा जोकोहीको रोजाइको शहर, प्याराग्लाडिङ गर्नेहरुको तस्वीर हेरेर चित्त बुझाउँथे, यसपालि आफै उडेर रहर पूरा गरेँ”, हमालले पोखराका सुन्दर प्राकृतिक दृश्य र पोखरेलीको न्यानो आतिथ्यतालाई बोकेर फर्किएको बताए।
फागुन ९ र १० गते पोखरामा सम्पन्न पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवं विधान अधिवेशन सङ्घीय संरचनाको नयाँ मोडललाई अङ्गिकार गर्ने अधिवेशन सफल भएको केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले बताए। उनले भने, “पोखराको अधिवेशन असाध्यै ऐतिहासिक साथै नमूनायोग्य रह्यो। अब महासङ्घ संस्थागत विकासका लागि आफ्ना मुद्दामा केन्द्रित भएर अगाडि बढ्छ।”
“योसँगै यतिबेला नेपालभरका पत्रकार पोखरा आए। सामाजिक सञ्जालभरि पोखराका तस्वीर छाइरहेका छन्। यसले पोखराको पर्यटन प्रवद्र्धनमा पनि उत्तिकै भूमिका खेल्नेछ।” स्थानीय व्यवस्थापन समितिका संयोजक एवं महासङ्घ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले महासङ्घको पोखरा साधारणसभा तथा विधान अधिवेशन विभिन्न १७ बुँदे प्रस्ताव पारित गर्दै ऐतिहासिक रुपमा शुक्रबार साँझ सम्पन्न भएको बताए।
श्रेष्ठले पोखरामा देशभरका एक हजार ४०० पत्रकारलाई आतिथ्यता प्रदान गर्न पाउँदा खुशी लागेको र महासङ्घको विधान संशोधन गर्न अधिवेशन सफल भएको बताए।
‘साथसाथै पत्रकारले पोखराको दृश्यावलोकन गरेर जुन तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । यसले प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्षलाई पनि सघाउन सहयोग पुर्याउँछ’ श्रेष्ठले भने ।



लाेकपाटी न्यूज

