सार्कस्तरीय वैज्ञानिक सम्मेलन हुँदै

सम्मेलन
लाेकपाटी न्यूज

हेटौँडा, १० फागुन । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्व विद्यालयको दुई फरक फरक विभागबीच युवा वैज्ञानिक सम्मेलन तथा सार्कस्तरीय वैज्ञानिक सम्मेलन गर्ने गरी शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालको उपस्थितिमा मन्त्रालयका सचिव शिवकुमार वाग्ले र त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका निर्देशक डा. दीपक अर्याल तथा सोही विश्व विद्यालयका प्राविधिक अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. रामेश्वर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुुन् ।

सम्झौतापछि मुख्यमन्त्री पौडेलले देशका कुना काप्चामा लुकेका प्रतिभाको कदर गर्न तथा नेपाली वैज्ञानिकको पहिचान गरेर समृद्धिको यात्रामा समाहित गराउन कार्यक्रम गर्न लागिएको बताए । उनले नेपालमा सरकारीस्तरबाट पहिलो पटक वैज्ञानिकको भेला गरेर उनीहरुको दक्षताको पहिचान गर्न लागिएको जानकारी गराएका छन् ।

उनले प्रदेश सरकारको योजनालाई त्रिविले सहकार्य गर्न देखाएको तत्परताले आफूलाई खुशी लागेकोे बताए । कार्यक्रममा उद्योगमन्त्री नेपालले प्रदेश सरकार देशको हरेक क्षेत्रको विकास गर्न लागि परेको र वैज्ञानिकहरुको सम्मेलन गरेर नेपालको कृषि तथा पर्यटन एवं औद्योगिक विकासका लागि उनीहरुको ज्ञानको प्रयोग गर्न सोे कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

सम्झौताअनुसार आगामी वैशाख १० र ११ गते त्रिभुवन विश्व विद्यालयको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले नेपालभित्र भएका विज्ञान तथा प्रविधि क्षेत्रका नवप्रतिभालाई थप प्रोत्साहन तथा हौसला बढाउन सहयोग पु¥याउन राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन गरी अनुसन्धान कार्यपत्र प्रकाशनको आधार तयार पार्ने विभागका कार्यकारी निर्देशक डा. रामेश्वर अधिकारीले बताए । उनकाअनुसार सम्मेलनमा प्रदेश तथा देशभित्रका १५० युवा वैज्ञानिकको सहभागिता रहनेछ ।

त्यस्तै विश्व विद्यालयको अर्को विभाग जल तथा मौसम विज्ञान विभागले आगामी जेठ २२ र २३ गते कम्तीमा पनि ५० को सहभागिता रहने गरी सार्कस्तरीय युवा वैज्ञानिक सम्मेलन गर्ने बताइएको छ ।

विभागका प्रमुख डा. दीपक अर्यालकाअनुसार प्रस्ताव आह्वान गरी नेपालको आवश्यकतालाई ठिक हुने गरी प्राप्त प्रस्तावमध्ये समितिमार्फत छनोट गरेर सार्कका सबै देशबाट प्रतिनिधित्व रहने गरी सहभागी गराइने छ । दुवै कार्यक्रमका लागि कूल रु ८० लाख खर्च हुने बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्