एजेन्सी । भारतको जम्मू–कश्मीरको पुलवामामा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला पाकिस्तानले सेनालाई सीमामा निगरानी राख्न भनेको छ । पाकिस्तानी राष्ट्रिय सुरक्षा समितिको बैठकमा प्रधानमन्त्री इमरान खानले भारतले गर्ने दुव्र्यहारको जवाफ दिन भनेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
प्रधानमन्त्री खानले सुरक्षाका विषयमा निर्णय लिन सेनालाई अधिकार दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि गत १४ फेब्रअरीमा भएको आतंकवादी आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो सेनालाई उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने अधिकार दिएका थिए ।
भारत सरकार, भारतय सञ्चारमाध्यम तथा भारतीय दलहरुले पुलवामा आक्रमणको आरोप पाकिस्तानमाथि लगाइरहेका छन् । भारतले पाकिस्तानी वस्तुमा २ सय प्रतिशत कर बढाएको छ भने बिहीबारमात्र एकजना भारतीय उच्च अधिकारीले भारतबाट पाकिस्तानतर्फ बग्ने नदी बन्द गरिने बताएका छन् । केन्द्रीय मन्त्री नितिन गडकरीले बिहीबार तीन वटा नदीको पानी बन्द गर्ने बताएका हुन् ।
भारतीय पक्षबाट लगातार अपमान भइरहेको भन्दै पाकिस्तानी सेनाले पनि त्यसको जवाफ दिने तयारी गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । यद्यपि, पाकिस्तानी प्रधानमन्त्रीले कुनै भड्काउ कार्य भने नगर्न भनेको बताइएको छ ।
यता भारतमा भने पाकिस्तानसँग युद्ध गर्नुपर्नेजस्ता आवाज उठेका छन् । दुवै देश आणविक हतियार सम्पन्न भएकाले भारत र पाकिस्तानबीच तत्काल युद्ध हुने अवस्था भने छैन । तर, यो तनाव लामो समय जान सक्ने देखिएको छ । भारत र पाकिस्तानबीच उत्पन्न विवादका कारण पूरा दक्षिण एसियामा यसको प्रभाव पर्ने देखिएको छ ।
पुलवामामा भएको आक्रमणमा कम्तिमा ४० जना भारतीय सुरक्षाकर्मी मारिएका थिए । सो आक्रमण पाकिस्तानस्थित जैश ए मोहम्मदले गराएको जिम्मेवारी लिएको थियो । उसले सो आक्रमण आफ्नो संगठनका पुलवामाका युवालले गराएको बताएको थियो ।



लाेकपाटी न्यूज

