काठमाडौँ, १० फागुन । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सामाजिक सञ्जाललाई नियन्त्रणमा लिन नखोजेको स्पष्ट पारेका छन् । उनले हरेक स्वतन्त्रताको सीमा नहुने र मर्यादाको सीमा हुने स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालका कारण कति व्यक्तिले आत्महत्या गर्न समेत बाध्य भएको भन्दै सामाजिक सञ्जालको नियमनका लागि संसदमा पेश भएको विधयेकको विषयमा नकारात्मक प्रचारवाजी नगर्न उनले अनुरोध गरेका छन् । विश्वको विकसित मुलुकमा पनि सामाजिक सञ्जालको नियमक भएको स्मरण गराउँदै उनले सत्तामाथिको नियन्त्रणका लागि यो विधयेक नल्याइएको बताएका छन् ।
मन्त्रिपरिषद बैठकबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले फेसबुक ट्वीटर युट्युवजस्ता सामाजिक सञ्जाल चलाउन पाइने तर त्यसलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले ऐन ल्याउन लागेको बताए ।
मन्त्री बास्कोटाले भने– ‘संसारमा यसको जुन किसिमको प्रयोग छ, हाम्रोमा यसबारेमा स्पष्ट कानून थिएन । कयौं साइबर अपराधबारे तपाईहरुले नै लेख्नुहुन्छ, कहाँ छानविन गर्ने, कहाँ उजुरी गर्ने, कसरी कारवाही गर्ने यो केही थिएन । अब ह्याकिङ्ग हुन्छ, २४ दिन पुलिसले समात्ने छोडिदिने, त्यसबाट ब्यक्तिलाई संस्थालाई कति क्षति हुन्छ, ती चीजहरुलाई अगाडि बढाउन खोजिएको हो । तर बढदो सूचना प्रविधिलाई नै रोक्ने हिसाबले कानून आउन लाग्यो कि भन्ने छ, त्यो हैन ।’
उनले कुनै पनि व्यवसाय गर्न दर्ता हुनुपर्ने बताउँदै फेसबुक लगायतका सामाजिक सञ्जाल अरु देशमा दर्ता गरेरै चलाइएको उल्लेख गरे । उनले भने– ‘फेसबुक, ट्वीटर जम्मै चलाउन पाइन्छ । तर, त्यसको पनि व्यक्तिगत, सामाजिक र कानूनी मर्यादा हुन्छ । भारत, जर्मनी, अमेरिकाको पनि कानून हेर्नुस् । यसको प्रयोगमा प्रोत्साहन पनि गर्ने हो । तर, जथाभावी गर्नेहरुलाई नियन्त्रण पनि ।’
उनले कसैले सामाजिक सञ्जालबाट देशद्रोह गर्ने आह्वान गर्यो भने त्यसलाई कारवाही गर्न कसलाई गुहार्ने ? भन्दै प्रश्न गरे । उनले विश्वको खुला समाजले सामाजिक सञ्जाल प्रयोग गर्न दिएजस्तै नेपालले दिए पनि जहाँ जसले जे गरे पनि हुन्छ भन्ने ढंगले छुट नदिने बताए । उनले भने– ‘दर्ता सम्बन्धी कुरा कुन देशमा छैन । जर्मनी, भारत लगायतका देशमा दर्ता हुदैन ? बेलायतमा दर्ता छैन ? सबै ठाँउमा दर्ता छन् । फेरि तपाईहरुले नै हरेक वर्ष १२ अर्ब ७५ करोड बाहिर गयो भनेर लेख्नुहुन्छ । त्यो करको प्रक्रियामा आएको छ ?’
कानून नियम हरेक देशमा हुने भन्दै सरकारले पनि त्यसलाई प्रयोग गर्न खोजेको उनले बताए । सामाजिक सञ्जाल र मुलधारको पत्रकारिता एउटै नभएको बताउँदै उनले सामाजिक सञ्जाल व्यवस्थित गराउन खोज्दा प्रेस स्वतन्त्रतासँग जोडेर व्याख्या विश्लेषण गर्नु आफैलाई धोका दिनुसरह हुने उनको भनाई छ ।



लाेकपाटी न्यूज

