नेकपाको एकता कार्यदल भङ्ग गर्ने निर्णय

Nepal Communist party
लाेकपाटी न्यूज

काठमाडौं, १० फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सांगठनिक एकता टुंगो लगाउने गठित चौंथो कार्यदल पनि भंग गरेको छ । अब शीर्ष नेताहरु रहेको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्नेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हो । बिहीबार सचिवालय बेठकमा संयोजक रामबहादुर थापा ‘बादल’ले पेश गरेको कार्यदलको प्रतिवेदनमा एक साता समय माग गरिएको थियो ।

बैठकमा बोल्ने कार्यदलका बहुमत सदस्यहरुले पनि म्याद थप्नुपर्ने धारणा राखेका थिए । तर, प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परामर्श गरेर कार्यदल विघटन गर्ने प्रस्ताव गरेका थिए ।

शुक्रबारको सचिवालय बैठकले ओलीकै प्रस्तावअनुसार निर्णय गरेको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सचिवालयको बैठकले कार्यदललाई अहिलेसम्म गरेको कामका लापथ धन्यवाद दिने निर्णय र्गयो । अब प्रस्ताव सचिवालयले तयार गर्ने र स्थायी समितिमा पेश गर्ने निर्णय भएको छ ।’

नेकपामा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’को नेतृत्वमा कार्यदल बनेको थियो । कार्यदलमा महासचिव विष्णु पौडेल, नेताहरु वर्षामान पुन, रघुवीर महासेठ लगायतका नेताहरु थिए । तर, नेताहरुको कार्यव्यस्तता र एकतामा कुरा मिल्न नसकेपछि कार्यदलले प्रतिवेदन नै तयार गर्न सकेको थिएन ।

नेकपामा यसअघि टुंगाएका प्रदेश समिति सदस्यको नाम परिमार्जन हुनुपर्ने प्रस्ताव आएपछि कार्यदल थप अन्यौलमा परेको थियो । कार्यदललाई जिल्ला अध्यक्ष, सचिव, विशेष प्रदेश कमिटी र भातृ संठगनको एकताको प्रस्ताव तयार पार्न कार्यदेश दिइएको थियो । तर, पटकपटक म्याद थप्दा पनि सहमति नजुटेपछि कार्यदल भंग गरिएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्