रितो डाँक पठाउँदै कर्मचारी, के काम हुन्छ हुलाकमा ?

hulak post office
लाेकपाटी न्यूज

दिपायल । डिभिजन हुलाक कार्यालय दिपायल राजपुरका कर्मचारी हिजोआज रितो डाँक पठाउन बाध्य भएका छन्। हुलाक कार्यालयमा खासै चिठीपत्र कसैले नपठाउने गरेका कारण कर्मचारी रित्तो डाँक पठाउने गरेका हुन्।

यहाँबाट सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा केन्द्र अर्थात् काठमाडौँमा समेत डाँक जाने भए पनि चिठीपत्र कसैले नपठाउँदा प्रायः रित्तो डाँक जाने गरेको डिभिजन हुलाक कार्यालय दिपायलका प्रमुख जितेन्द्र विकले बताए।

उनले भने, “इन्टरनेट तथा विभिन्न सञ्चार सेवामा पहँुच बढ्दै जाँदा हुलाक सेवाको पहुँच घट्दै गएको हो”, सूचना प्रविधिको विकासले फड्को मार्दा हुलाकमार्फत चिठीपत्र पठाउने प्रचलन हराउँदै गएको छ। टेलिफोन, इन्टरनेट र फ्याक्स, मोबाइल फोन सर्वसुलभ भएपछि हुलाकबाट आफन्तलाई चिठीपत्र पठाउने प्रचलन हराउँदै गएको दिपायलका स्थानीयवासी दिव्य पाठकले बताए।

उनले भने, “अति जरुरी काम फोनबाट भइहाल्छ, ‘डकुमेण्ट’ मेलबाट पठाउने व्यवस्था भएपछि कसले कुर्ने हुलाकलाई ?” घरायसी वा व्यक्तिगत चिठीपत्र पठाउने काम घटेपछि यहाँका डिभिजन हुलाक तथा जिल्ला हुलाक कार्यालय डोटी सरकारी कार्यालयका चिठीको भरमा सञ्चालन भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्