काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिले परिमार्जन गरी पारित गर्ने विधानलाई अन्तिम रुप दिन अनौपचारिक छलफल थालेका छन् ।
बिहीबार सभापति देउवाले नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीसँग अनौपचारिक छलफल गरेका हुन् । परिमार्जित विधानलाई फागुन १२ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने कार्यसूचि रहेको कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेसले दिएको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीको छलफल आज सभापति श्री शेरबहादुर देउवाको कार्यकक्षमा भयो । छलफलले महासमितिबाट केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरेको विधानलाई अन्तिम रुप दिन आवश्यक थप छलफल गरेर सहमतिको प्रयास गर्ने गरी केन्द्रीय कार्यसमितिको बैठक फागुन १२ गते विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको छ ।’
कांग्रेसको विधान टुंगो नलाग्दा पदाधिकारीको नियुक्ति र भातृसंगठनको अधिवेशन लगायतका अधिकांश काम प्रभावित भएका छन् । विधानमा नै नेताहरुले भागबण्डा खोजेको र आपूअनुकूल ढाल्न खोजेकाले विधान पारित हुन ढिलाई भइरहेको छ ।



लाेकपाटी न्यूज

