पत्रकारको भेला : पर्यटन व्यवसायी उत्साहित

pokhara-696x46101
लाेकपाटी न्यूज

पोखरा, ९ फागुन । नेपालभरका झण्डै १ हजार ५ सय पत्रकारहरुको भेला पोखरामा हुँदै गर्दा यहाँका पर्यटन व्यवसायी भने निकै उत्साहित बनेका छन् ।

पत्रकार महासङ्घको केन्द्रीय साधारण एवं विधान अधिवेशन फागुन ९ र १० मा पोखरामा हुँदैछ । सोही मञ्चबाटै गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष–२०१९ को घोषणा गर्ने कार्यक्रम रहेको छ । गण्डकी प्रदेश सरकारको समन्वयमा हुन गइरहेको सो अधिवेशनमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रमण वर्ष घोषणा गर्नेछन् ।

देशभरिका पत्रकारमाझ हुने भ्रमण वर्ष घोषणाले सूचनाको प्रवाह एकैसाथ चारैतिर पुग्ने भएकाले यो भेलाले त्यहाँका पर्यटन व्यवसायीलाई निकै उत्साहित बनाएको रेबान पोखराका अध्यक्ष भीमसेन भुजेलले बताए । उनले भने, ‘यो साह्रै राम्रो अवसर हो, पोखराको सुन्दरता र यहाँको आतिथ्यतालाई देशभर चिनाउन, उहाँहरुको कार्यक्रमको सफलताको शुभकामना दिँदै पोखराका नलेखिएका थुप्रै कुरालाई खोजेर लेखेर पर्यटन प्रवद्र्धन गर्न आग्रह समेत गर्छु ।’

होटल एशोसिएसन अफ नेपाल (हान) पश्चिमाञ्चलका अध्यक्ष विकल तुलाचन सरकारले आन्तरिक भ्रमण वर्षको घोषणाको तयारी गरिरहँदा देशभरिका पत्रकारको भेला पोखरामा हुनु निकै प्रशंंसनीय पक्ष रहेको बताउँछन् । उनले पत्रकारको भेलाले पोखराको पर्यटन व्यवसायलाई थप टेवा पु¥याउने बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलियाले पर्यटनको प्रचार–प्रसारमा सञ्चारक्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले यो भेलाले पोखराको पर्यटनमा विशेष भूमिका खेल्ने बताए । उनले भने, ‘विशेषगरी ‘माइस टुरिज्म’ (मिटिङ, इन्सेन्टिभ, कन्फरेन्स, इभेन्ट) पर्यटनमा यी कुराले विशेष भूमिका खेल्छ । पत्रकारको यो भेलाले पनि माइस टुरिज्म प्रवद्र्धनमा महत्वपूर्ण भूमिका रहने हामीले विश्वास लिएका छाै, उहाँहरुले जब पोखरालाई हेर्नुहुन्छ, पढ्नुहुन्छ, अनि सशक्त माध्यमबाट समाचार, आलेख, विशेष रिपोर्ट प्रसारण गर्नुहुन्छ । यसलाई पैसामा रुपान्तरण गर्न नसकिने लाभको रुपमा हामीले लिएका छाै ।’

‘राष्ट्रिय समृद्धिका लागि सञ्चारः गुणात्मक, व्यवसायिक र सुरक्षित पत्रकार’ भन्ने नाराका साथ दुई दिन पोखरामा केन्द्रीय साधारणसभा र विधान अधिवेशन हुँदैछ । सो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले यो अधिवेशनले सङ्घीय संरचनाअनुसार महासङ्घको संरचना पनि परिवर्तन हुन लागेको बताउँदै ऐतिहासिक हुने र यहाँको पर्यटनलाई पनि सँगसँंगै प्रवद्र्धन गर्न सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्