काठमाडौं, ९ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडा संयुक्त अधिराज्य वेलायत पुगेका छन्। डा. खतिवडा बेलायतको लण्डनस्थित नेपाली राजदूतावासले आयोजना गरेको नेपाल विकास सम्मेलनमा भाग लिन बुधबार त्यहाँ पुगेका हुन्।
लण्डनस्थित हित्रो विमानस्थलमा उत्रेका डा. खतिवडाले नेपालमा हुन गइरहेको लगानी सम्मेलनको विषयमा छलफल गर्न वेलायत आएको बताए । उनले धेरै अपेक्षा लिएर वेलायत आएको बताए । उनले आफ्नो भ्रमणको मुख्य उद्देश्य वेलायतस्थित नेपाली समुदायको लगानी स्वदेश लैजाने लगायत वेलायत–नेपाली बीचको दुई पक्षीय सम्बन्धको बारेमा समेत वेलायतसँग छलफल गर्नु रहेको बताए ।
वेलायतस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरण हित्रो विमानस्थलमा डा. खतिवडाको स्वागतका लागि पुगेका थिए । यस्तै गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्य पनि मन्त्री खतिवडाको स्वागतका लागि विमानस्थल पुगेका थिए ।
शुक्रबार लण्डनस्थित नेपाली दूतावासमा आयोजित विकास सम्मेलनलाई खतिवडाले प्रमूख वक्ताका रुपमा सम्बोधन गर्ने नेपाली दूतावास लण्डनले जनाएको छ । नेपाली दूतवासका प्रवक्ता आरणकाअनुसार चार सेसनमा हुने सो कार्यक्रममा गैरआवासीय नेपाली संघ, नेपाल वेलायत चेम्बर अफ कमर्स, वेलायतस्थित नेपाली तथा विदेशी लगानीकर्ताहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
भ्रमणले नेपाल र संयुक्त अधिराज्य बीचको पारस्परिक हित अभिवृद्धिमा सघाउ पुर्याउनुका अतिरिक्त नेपालमा आयोजित लगानी सम्मेलनमा संयुक्त अधिराज्यका सम्भाव्य लगानीकर्ताहरुलाई सहभागी गराउन समन्वय गर्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।



लाेकपाटी न्यूज
