काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले गायक पशुपति शर्माको भाइरल गीत ‘लुट्न सके लुट् कान्छा’ युट्युबबाट हटाइएको बारे पहिलो पटक प्रतिक्रिया दिएका छन्।
बुधबार बिहान सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले नरूचाएपछि गायक शर्माले नै त्यो गीत युट्युबबाट हटाएको दाबी गरे ।
उनले भने, ‘हामी नचाहिने कुरामा उत्ताउलो हुन्छौं । एउटाले भुलचुकमा गीत बनायो रे कता हो कता । लुट, लुट । गरी खाएर केही काम लाग्दैन । लुटेर खा भाइ लुटेर खा भनेर गीत बनाएछन्, जनताले तिम्रो गीत मन पराएनौं भनेपछि युट्युबबाट हटाएछन्।’
उनले गायकलाई २५ हजार पुरस्कार दिने घोषणा गरेका कांग्रेस सांसद अमरेशकुमार सिंहप्रति पनि कटाक्ष गर्दै भने, ‘त्यस्तो राम्रो लुटेर खान सिकाउने गीत नेपालीलाई सुहाउँदो, किन हटाएको भनेर राख्नुपर्छ भनेछन्। हाम्रो तलबबाटै २५ हजार पुरस्कार दिन्छु भनेछन्। मलाई अचम्म लाग्छ, हामी कता जान खोज्दैछौं ।’ प्रधानमन्त्रीले भने ।
उनले सरकारले यो गीत युट्युबबाट हटाउनेबारे केही नभनेको समेत बताए । उनले भने, ‘त्यो गीतमा सरकारले केही भनेको छैन । सरकारको भनाइ सुबाटोमा नै हिँड्यौं भन्ने मात्र हो ।’
यसअघि सत्तारूढ दलको भातृ संगठन युवा संघका नेताले गायक शर्माको ‘लुट्न सके लुट’ भन्ने गीत युट्युबबाट हटाउन भनेका थिए । राजनीतिक सुझाव आएकाले आफूले गीत हटाएको शर्माले बताएका थिए ।



लाेकपाटी न्यूज

