धनगढी, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको खुट्टा छोएर भोट मागेर जितेका जनप्रतिनिधिलाई सभ्य बन्न निर्देशन दिएका छन् । सुदूरपश्चिम प्रदेश सभाको सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनप्रतिनिधिमा जनताका आकांक्षा प्रतिविम्बित हुनुपर्ने बताए ।
प्रदेशसभा सदस्यहरूलाई सम्बोधन गर्दै उनले भने,‘जनतासामु हात जोडेर, खुट्टा छोएर भोट मागेर जितेका प्रतिनिधि सभ्य र परिस्कृत हुनुपर्छ, जनता र देशप्रति समर्पित हुनुपर्छ । तपार्इंहरू यस प्रदेशलाई कस्तो बनाउने भन्ने नायक हो । यहाँका कानून, थिति, नीति, योजना कार्यक्रम र सरकार कसरी अगाडि बढाउने भन्ने कुरा तापाईंहरुको हातमा छ ।’
जनप्रतिनिधिका व्यवहारले लोकतन्त्रप्रति जनताको विश्वास जाग्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘छानेर पठाएका प्रतिनिधिको स्वच्छताप्रति जनतामा विश्वास हुनुपर्छ, कसैले आरोप लगाए पनि प्रतिवाद जनताले गर्ने स्थिति बनोस् ।’ कसैले नियुक्त गरेको भए राम्रो भएन भनेर फिर्ता गर्न सकिने भएपनि जनताको प्रतिनिधिलाई फिर्ता गर्न नसकिने उनले बताए ।
सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय आकांक्षा तय गरेर काम गरिरहेको प्रधानमन्त्री ओलीले बताए । ‘कुनै सरकारले १ वर्षमा यति कानून निर्माण, यति कानून संशोधन, दुरगामी महत्त्वका कामको निक्र्यौल गरेको छैन,’ उनले भने, ‘विकास निर्माणका काम अगाडि बढाउनेमा असाधारण ढङ्गले १ वर्ष बिताएका छौं ।’



लाेकपाटी न्यूज

