काठमाडौं, फागुन ८ । विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुले अब योग्यता नपुगेको भए ५ वर्षभित्र योग्यता पुर्याउनुपर्ने भएको छ ।
सरकारले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा आधारभुत तहमा अध्यापन गराउन कम्तीमा स्नातक र माध्यमिक तहमा कम्तीमा स्नातकोत्तर तह हुनुपर्ने व्यवस्था गरेपछि योग्यता नपुगेका शिक्षकले अनिवार्य रुपमा स्नातक वा स्नातकोत्तर तह पूरा गर्नुपर्ने भएको छ ।
प्रस्तावमा वालविकास केन्द्र (इसिडी) र कक्षा १ देखि ३ सम्म अध्यापन गराउन भने कक्षा १२ वा प्रविणता प्रमाणपत्र तह अध्ययन पूरा गरे पुग्ने भएको छ । हाल सार्वजनिक भएको मस्यौदाप्रति नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ ।
हाल अधिकांश विद्यालयहरुमा आधारभूत तहमा एसएलसी उत्तीर्ण शिक्षकहरुले पढाइरहेका छन् । त्यसैगरि निम्न माध्यमिक तहमा कक्षा १२ वा प्रविणता प्रमाणपत्र तह र माध्यमिक तहमा स्तानक गरेका शिक्षकहरु छन् । उनीहरुले चाहेर पनि बदलिँदो शिक्षा प्रणाली र पाठ्यक्रममा आफूलाई अभ्यस्त गराउन सकेका छैनन् ।
सरकारले अघि सारेको नयाँ प्रावधानले सार्वजनिक विद्यालयहरुको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । अधिकांश विद्यालयमा पूरानै पाठ्यक्रम अनुसारका शिक्षक रहेको, उनीहरु विज्ञान प्रविधिसँग अपरिचित रहेको भन्दै अभिभावकले गुनासो गर्दै आएका थिए । सरकारले सार्वजनिक विद्यालयको गुणस्तर उकास्न ऐन नै संशोधन गर्न लागेको हो ।



लाेकपाटी न्यूज

