काठमाडौं, ७ फागुन । आज देशभर प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमकासाथ मनाइएको छ । वि.सं. २००७ साल फागुन ७ गते १०४ वर्षे जहाँनिया राणाशासनको अत्य भएर देशमा प्रजातन्त्र आएको थियो । त्यही खुसीयालीमा उक्त दिनलाई सम्झिँदै हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउँदै आइएको हो ।
यसै सन्दर्भमा प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै प्रजातन्त्र दिवसको शुभकामना प्रकट गरेका छन् । विज्ञप्तिमा उनले फागुन ७ लाई एक युगमा आएको इतिहासको एक गौरवमय दिनका रुपमा स्मरण गरेका छन् । जुन दिनले राणा शासनको अन्त्य गरेर नेपालीलाई रैतिबाट नेपाली नागरिकमा परिणत गरेको उनले बताएका छन् ।
फागुन ७ को अवसरमा सभापति शेरवहादुर देउवाद्वारा जारी विज्ञप्ति
फागुन ७ गते, एक युगमा आएको इतिहासको एक गौरवमय दिन, जसले राणा शासनको अन्त्य गरेर रैतिवाट नेपाली नागरिकमा हामीलाई परिणत त ग¥यो नै आधुनिक नेपालको नवीन यात्रा पनि प्रारम्भ ग¥यो । आजको मितिमा आइपुगेर हामीले स्थापित गरेको लोकतन्त्र, समावेशीता र संघीयताको प्रारम्भीक जग थियो त्यो दिन । फागुन ७, हाम्रा पछिल्ला सबै सङ्घर्ष र क्रान्तिहरुको जननी थियो ।
यो घडीमा म त्यो दिन सम्भव तुल्याउन बलिदान दिएका प्रथम शहिद लखन थापा मगर देखि अमर शहिदहरु शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ लगायतमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।
नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न भएको त्यो क्रान्तिका महानायक वीपी कोइराला, मुक्ति सेनाका लडाकुहरु एवं त्यो क्रान्तिमा सहभागीता जनाउने समस्त नेपालीलाई यो घडीमा असिम श्रद्धाका साथ स्मरण गर्दछु ।
राणा शासनबाट देशलाई मुक्ति दिलाएर स्थापित गरिएको स्वाधिनता पछि आजको मितिसम्मका हरेक राजनैतिक परिवर्तन एवं आर्थिक समृद्धिको दिशामा हिंसा र अस्थिरताका बाबजुद नेपाली कांग्रेसले निर्वाह गरेको ऐतिहासिक भूमिकालाई नवीन सन्दर्भमा नवीन ढङ्गले अघि बढाउन फागुन ७ को पुरानो मितिले नवीन प्रेरणा निरन्तर हामीलाई दिईरहेको छ । यो घडी त्यहि उद्देश्यमा दृढता प्रकट गर्दै समस्त नेपाली दिदी बहिनी, दाजुभाइमा प्रजातन्त्र दिवसको हार्दिक शुभकामना प्रकट गर्दछु ।



लाेकपाटी न्यूज

