निर्माण कार्य नसकिँदै पुल भत्किन शुरु

k014001
लाेकपाटी न्यूज

गाईघाट, ७ फागुन । सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–३ हडैयामा निर्माण हुँदै गरेको पक्की पुल निर्माण कार्य नसकिँदै भत्किन शुरु भएको छ ।

६० मिटर लम्बाई रहेको उक्त पुल हडैया खोलामा निर्माण भइरहेको छ । पुलका दुई स्ल्याबमध्ये एउटा भत्किन थालेको स्थानीयवासी बुद्धिमान कार्कीले बताएका छन् । चार स्ल्याबमा निर्माण हुनुपर्ने उक्त पुल ढिलो गरी निर्माण भइरहेकाले निर्माण भएको केही भाग भत्किन थालेको हो । सिराहा जिल्लाको सडक डिभिजन कार्यालय लाहानका इञ्जिनीयर बचन भण्डारीले पुल भत्केको विषयमा अध्ययन भइरहेको बताएका छन् ।

स्थानीयवासीले पुलमा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेका कारण भत्कन थालेको बताएका छन् । वि. सं २०७३ देखि राजेन्द्र जगदम्बा गल्या जेभी प्रालि निर्माण कम्पनीले निर्माण शुरु गरेको उक्त पुल २०७५ सालभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ । अहिलेसम्म ५० प्रतिशत कार्यसमेत सम्पन्न नभएको स्थानीयवासी रुद्रकुमार तामाङले बताएका छन् ।

सडक विभागको रु आठ करोड ७९ लाख २८ हजारको लागतमा उक्त पुल निर्माण भइरहेको बताइएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्