मणिपुरबाट उद्धार गरिएका १ सय ७९ जनालाई नेपाल ल्याइयाे

साङ्केतीक तस्विर
लाेकपाटी न्यूज

भद्रपुर, ७ फागुन । मानव बेचविखनको जोखिममा परेका १ सय ७९ नेपालीको उद्धार गरी नेपाल ल्याइएको छ । उद्धार गरिएका १ सय ४७ महिला र ३२ पुरुषलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी मंगलबार नेपाल ल्याइएको हो ।

माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट उद्धार गरी ल्याइएका उनीहरुलाई आजै काठमाडौँ लगिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले जानकारी दिए ।

उनीहरु चढेको छ भारतीय बस आज बिहान ९ बजे पूर्वीनाका काँकडभिट्टाबाट नेपाल आइपुगेको छ । मेची भन्सार परिसरमा छ वटा नेपालका बसमा स्थानान्तरण गरी उनीलाई आजै काठमाडौँ पठाइएको छ ।

नेपालको विभिन्न नाकाबाट मणिपुर पुर्‍याइएका उनीहरुलाई मानव तस्करीमा संलग्न दलालले अवैध रूपमा म्यान्माको बाटो हुँदै इराक र संयुक्त अरब इमिरेट्स लैजान लागेको अवस्थामा उद्धार गरिएको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताए । उद्धार गरिएकामध्ये कतिपय बाटोमा बिरामी परेको र धेरैजसो तनावमा रहेकोले उनीहरूलाई काठमाडौँ लगेर पुनःस्थापनागृहमा राखिने उनको भनाइ छ ।

‘उहाँहरु असाध्य थकित र तनावमा हुनुहुन्छ, कतिपयसँग दलालले रु. चार/पाँच लाखका दरले पैसासमेत असुलेको रहेछ’, उपसचिव भुसालले भने, ‘पुनःस्थापना गृहमा लगेर रेस्ट गराउँछौँ र उहाँहरुलाई लैजाने दलालको बारेमा सम्बन्धित निकायमार्फत अनुसन्धान गर्छौँ ।’

ती नेपालीलाई इराक र युएइ लैजाने गिरोहमा संलग्न भएको आशङ्कामा नौ जनालाई मणिपुर प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिइएको छ । उद्धार कार्यमा भारतस्थित नेपाली दूतावास, भारतीय महिला आयोग, मणिपुरको प्रान्तीय सरकार र त्यहाँको प्रहरीले सघाएको बताइएको छ ।

मणिपुर प्रान्तका मुख्यमन्त्री एन वीरेन सिंह मणिपुरमा उद्धार गरिएका नेपालीलाई नेपाल पठाउन आफैँ उपस्थित भएको माइती नेपालका अध्यक्ष खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्