काठमाडौं, ७ फागुन । ६९औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास किमार्थ स्वीकार्य हुन नसक्ने बताएका हुन् ।
उनले लोकतन्त्रिक प्रकृयामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने जस्ता गतिविधिहरु स्वीकार्य नहुने बताउँदै मुलुककाई मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले पनि गर्न नहुनेमा जोड दिए ।
प्रधानमन्त्रीले ओलीले सम्बोधन गरेको पूर्णपाठ
सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय प्रधान न्यायाधीशज्यू,
सम्माननीय सभामुखज्यू,
सम्माननीय राष्ट्रिय सभाका अध्यक्षज्यू,
माननीय मन्त्रीगण, प्रतिनिधिसभा र राष्ट्रिय सभाका माननीय सदस्यहरु
विदेशी कुटनीतिक नियोगका प्रमुखज्यूहरु,
राष्ट्रसेवक कर्मचारीहरु,
विशिष्ट अतिथिहरु र सम्पूर्ण आदरणीय दिदीवहिनी तथा दाजुभाइहरु ।
२००७ साल फागुन ७ गते आजकै दिन हामी नेपालीले एकतावद्ध सङ्घर्षबाट निरंकुश जहानियाँ राणा शासनको अन्त्य गरेका थियौं। त्यस गौरवमय दिनको सम्झना र सम्मानमा हामीले हरेक वर्ष प्रजातन्त्र दिवस मनाउँदै आएका छौं। आज हामी ६९ औं प्रजातन्त्र दिवस मनाइरहेका छौं।
प्रजातन्त्र प्राप्तिको लामो र बलिदानपूर्ण सङ्घर्षमा आफूलाई बलिदान गर्नुहुने सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछु। म देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु।
आजको दिन प्रजातान्त्रिक हक–अधिकारको स्थापनाका लागि विगतमा भएको अथक र अनवरत् आन्दोलनमा आफूलाई समाहित गर्ने वीर विरङ्गनाहरुको स्मरण गर्ने दिन हो। आजको दिन नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासको सम्झना गर्ने दिन पनि हो। साथै, आजको दिन विगतमा भए गरेका कमी कमजोरीको समीक्षा गर्दै प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्ने र अघि बढ्न सङ्कल्प गर्ने दिन पनि हो।
नयाँ संविधान जारी भएपछि आयोजना गरिएको आम निर्वाचनपछि बनेको यस सरकारले भर्खरै आफ्नो कार्यकालको एक वर्ष पूरा गरेको छ। सो सन्दर्भमा, गएको फागुन २ गते गरिएको सम्बोधनमा मैले सरकार सञ्चालनका अनुभव र भएका प्रगतिको बारेमा मेरा धाराणा सार्वजनिक गरेको थिएँ। सरकार सञ्चालनको यस वर्षलाई आधार वर्षको रुपमा मैले चर्चा गरेको थिएँ। र, त्यो आधारको रुपमा संविधान बमोजिमका संरचना निर्माण, संघीयता कार्यान्वयन, वित्त व्यवस्थापन, कानून तथा जनशक्ति समायोजनलाई उल्लेख गरेको थिएँ। सरकारले एक वर्षमा पूरा गर्नुपर्ने प्राथमिक अभिभाराहरु यिनै थिए।
अहिले द्वन्द्व व्यवस्थापन लगभग भइसकेको छ। द्वन्द्व व्यवस्थापनको सन्दर्भमा नेपालले मौलिक विधि अपनायो। आफ्ना समस्या आफैं हल गर्ने अठोटका साथ थालिएको हाम्रो यस कार्यले नेपालको आफ्ना समस्या आफैं हल गर्न सक्ने क्षमता प्रदर्शित भएको छ। अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको प्रतिष्ठा बढेको छ।
मैले यसअघि पनि भनेको छु, अहिले हामी बिल्कुलै नयाँ प्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गरिरहेका छौं। जनताको सार्वभौमसत्ता कायम भएको पहिलो राजनीतिक परिवर्तनपछि सात दशकमा अनेकौं आरोह–अवरोह पार गर्दै हामी संघीय लोकतान्त्रिक गणतन्त्रको आजको नवीन युगमा प्रवेश गरेका छौं। अबको हाम्रो यात्रा सुशासन र विकासतर्फको हो, जुन मार्गमा हामीले तीव्र गतिका साथ अघि बढ्नु छ।
परिस्थिति बदलिएको छ, हाम्रा कामका प्राथमिकता पनि फेरिएका छन्। हाम्रो जिम्मेवारी पनि बदलिएको छ। निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अहिले गरिबी, बेरोजगारी, पछौटेपन, विभेद र अविकासका विरुद्ध केन्द्रित भएका छौं। आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई बिस्तार सुदृढ गर्ने दिशामा अग्रसर छौं। सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दिगो विकास लक्ष्यहरु हासिल गर्ने अभियानमा छौं। हामी हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गर्दै अवसरलाई गुम्न नदिन कटिवद्ध छौं।
यतिखेर सरकार “समृद्ध नेपाल, सुखी नेपाली”को ध्येयका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित छ। स्वदेश र विदेशका लगानीकर्ताहरुको संलग्नतामा आउँदो चैत महिना लगानी शिखर सम्मेलनको आयोजना गरिँदैछ। लोकतन्त्र प्राप्तिको ७ दशक लामो यात्रामा हामीले देशबासीको मात्रै होइन, देश बाहिरका मित्रहरुको पनि नैतिक समर्थन प्राप्त गरेका थियौं। यसका लागि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। समृद्धि प्राप्तिको यस सहयात्रामा हाम्रा मित्रहरुको समेत सङ्लनता हुने र लगानी शिखर सम्मेलनमार्फत् विकास अभियानमा पनि पनि सहकार्य हुने मैले अपेक्षा गरेको छु।
देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दै गर्दा अहिले पनि हाम्रो लोकतन्त्रका सामू केही नकारात्मक प्रवृत्ति पनि प्रतिविम्वित भएका छन्। जारी लोकतन्त्रिक प्रक्रियामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने जस्ता गतिविधिहरु निन्दनीय छन्। यस्ता कतिपय गतिविधिहरु आपराधिक समेत छन्, जुन सैह्य हुँदैनन्। राजनीतिक रङमा रङ्गिएका भएपनि नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास किमार्थ पनि स्वीकार्य हुन सक्दैनन्। यस्ता गतिविधि गर्नेहरुविरुद्ध सरकार कडाइका साथ प्रस्तुत हुन्छ, तिनीहरुविरुद्ध सख्त कानूनी कारबाही गर्छ। म फेरि एकपल्ट स्पष्ट पार्न चाहन्छु, मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले पनि गर्नु हुँदैन।
प्रजातन्त्रको लागि भएको लामो सङ्घर्षका क्रममा हामी नेपालीले जन्मसिद्ध श्रेष्ठताको आधारमा स्थापित शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गर्यौं, आजको यस विशेष अवसरमा म पुनः एकपटक नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवगाथाको स्मरण गर्न चाहन्छु। र, दशकौं देखिको हामी नेपालीको विकास र समृद्धिको अटूट सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पुर्याउन आह्वान गर्दछु।
लोकतन्त्र अमर रहोस्। धन्यवाद।
२०७५ फागुन ७ गते



लाेकपाटी न्यूज

