पत्रकारको प्रश्न – पशुपतिको गीतले कांग्रेस जोगिएला ?

arjun-narsingh
लाेकपाटी न्यूज

काठमाडौं, ७ फागुन । ‘लुट् कान्छा लुट् बोल’को गीतका गायक पशुपति शर्माको गीतले संसददेखि सडकसम्म बहस र तरङ्ग पैदा गरेको छ । आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि पशुपति शर्माको गीतकै बारेको प्रश्नको सामना गर्नुपर्‍यो ।

पत्रकारले सोधे, “काँग्रेस अब पशुपति शर्माको पछि लागेको हो ?” जवाफमा नेता केसीले काँग्रेस लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने भएकाले स्वतन्त्रताको पक्षमा वकालत गरेको तर्क गरे । “पशुपतिकै पछि लाग्यो भन्ने आरोप र प्रत्यारोपका विषयमा केही भन्नु छैन, काँग्रेसले आफ्नो जन्मकालदेखि नै राष्ट्रियता प्रजातन्त्र र समाजवादको मुद्धा लिएर अघि बढेको छ । कसैको अभिव्यक्तिको स्वतन्त्रता नियन्त्रण गर्न सरकारले मिल्दैन” केसीले भने ।

समसामयिक विषयसँग सम्वन्धित कुराहरुमा पार्टीले सोही बमोजिम नै धारणा राखेको काँग्रेस नेता केसीले बताए । काँग्रेसले संसदमा प्रभावकारी र सशक्त भूमिका खेल्न नसकेको स्वीकार गर्दै काँग्रेस नेता केसीले यसमा सुधार गरेर जानुपर्ने बताए ।

सरकारको कार्यशैलीको पनि केसीले आलोचना गरे । वाइडबडी, ३३ किलो सुन काण्ड, एनसेल प्रकरण, बुढीगण्डकीजस्ता विषयमा सरकार चुकेको केसीले आरोप लगाए । ‘यो सरकार साँच्चिकै भ्रष्टाचार नियन्त्रणमा लागेको छ भने जुनसुकै पार्टी र तहका जो–सुकै परोस् कार्वाही गरेर देखाओस्’ उनले भने ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्